Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विपद् पूर्वतयारीका लागि ड्रिल अभ्यास बैठक सम्पन्न

विपद् पूर्वतयारीका लागि ड्रिल अभ्यास बैठक सम्पन्न

दैनिकी न्यूज

२३, चैत्र २०८२
विपद् पूर्वतयारीका लागि ड्रिल अभ्यास बैठक सम्पन्न
images

ललितपुर । ललितपुरको बज्रबाराहीस्थित बज्रबाराही चापागाउँ अस्पतालमा विपद् पूर्वतयारीका लागि ड्रिल अभ्यास बैठक सम्पन्न भएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा आइतबार बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले नेपालमा प्राकृतिक विपत्ति आएपछि मात्र उद्धार कार्य सुरु हुने प्रवृत्ति रहेको उल्लेख गर्दै पूर्वतयारीका रूपमा यस्तो अभ्यास आयोजना गरिएकोमा खुसी व्यक्त गरे । यस्ता ड्रिल अभ्यासले बाढी, पहिरो, आगलागी, भूकम्पजस्ता विपद्का समयमा सुरक्षित रहने उपायबारे जानकारी दिने उनले बताए । उनले बज्रबाराही अस्पताल दक्षिण ललितपुरका तीनवटा गाउँपालिकाको प्रमुख उपचार केन्द्र भएको स्मरण गराउँदै प्राकृतिक विपत्ति पूर्वसूचना बिना आउने भएकाले सबैले सावधानी अपनाउनुपर्नेमा जोड दिए । उनले अस्पतालमा पछिल्लो समय रेविज खोपको अभाव रहेको उल्लेख गर्दै समस्या समाधानका लागि पहल गर्न सुझाव दिए । आर्थिक अभाव भए नगरपालिका सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. लक्ष्मण खड्काले हाल नयाँ भवन निर्माणाधीन रहेकाले साँघुरो स्थानबाट सेवा दिनुपरेको जानकारी दिए । यसपटकको अभ्यासमा बाढी तथा पहिरोसम्बन्धी कृत्रिम घटना प्रस्तुत गरिने उनले बताए । उनका अनुसार उक्त अभ्यासमार्फत घाइतेको उद्धार प्रक्रिया, स्वास्थ्यकर्मीको परिचालन तथा उपचार व्यवस्थापनसम्बन्धी विषयमा अभ्यास गराइनेछ । इमर्जेन्सी कक्षमा बिरामीको अवस्थाअनुसार छुट्टाछुट्टै जोन निर्धारण गरी उपचार गर्ने व्यवस्था रहेको उनले जानकारी दिए । डा. खड्काले यस्ता अभ्यासले ठूला दुर्घटना तथा विपद्का समयमा नआत्तिई काम गर्न सहयोग पुग्ने र अभ्यासका क्रममा देखिएका कमजोरी सुधार गर्दै लैजान सकिने बताए । ड्रिल अभ्यास प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल रेडक्रसको सहकार्य आवश्यक रहेको पनि उनले उल्लेख गरे ।
पाटन अस्पताल, लगनखेलका डा. कृपा महर्जनले ‘डिजास्टर प्लान’ को महत्वबारे प्रकाश पार्दै विपद्का बेला कसले के गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताइन् । उनले विपद् अघि र पछि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् ।
जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन श्रीभद्रा शर्माले विपद्का समयमा जनस्वास्थ्य कार्यालय अस्पताललाई आवश्यक सहयोग गर्न सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।
बज्रबाराही अस्पतालका फोकल पर्सन डा. अमरदीप साहले अस्पताल २५ शय्याको रहेको र इमर्जेन्सी कक्षमा ५ बेड रहेको जानकारी दिए । अस्पतालबाट बहिरङ्ग, शल्यक्रिया, रेडियोलोजीलगायत सेवा प्रवाह भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र २३, २०८२ सोमवार - ०६:३१:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology