काठमाडौं । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशीका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णालीका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।