ललितपुर । नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा “एक विद्यालय, एक नर्स” अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिँदै आएको छ । विद्यार्थीहरूको स्वास्थ्य, पोषण तथा सरसफाइमा सुधार ल्याउने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रम अहिले क्रमशः विस्तार हुँदै गएको छ ।

यस कार्यक्रममार्फत विद्यालयमा कार्यरत नर्सहरूले विद्यार्थीहरूलाई प्राथमिक उपचार सेवा प्रदान गर्नुका साथै स्वास्थ्यसम्बन्धी परामर्श, स्वास्थ्य शिक्षा, सरसफाइबारे सचेतना अभिवृद्धि तथा महिनावारी व्यवस्थापनसम्बन्धी सहयोग प्रदान गर्दै आएका छन् । यसले विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच तथा समयमै उपचारमा पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन् ।
सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारको संयुक्त पहलमा सञ्चालन भइरहेको यो कार्यक्रम बागमती प्रदेशले आर्थिक वर्ष २०१८–२०१९ बाट सुरु गरेको हो । कार्यक्रम विस्तारसँगै ललितपुर जिल्लाका विभिन्न स्थानीय तहहरूमा पनि यसको प्रभाव देखिन थालेको छ । जिल्लाभित्र कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिकाका सरकारी विद्यालयहरूमा विद्यालय नर्सहरू कार्यरत छन्। यी नर्सहरूले विद्यालयमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।
ललितपुर जिल्लामा ६ वटा स्थानीय तहमा ५४ जना विद्यालय नर्स रहने प्रावधान रहेको छ । यस व्यवस्थाले ग्रामीण तथा शहरी दुवै क्षेत्रका विद्यार्थीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पु-याउने विश्वास लिइएको छ ।
यसैबीच, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विद्यालय नर्सहरूको क्षमता अभिवृद्धि गर्न विशेष तालिम कार्यक्रम सञ्चालन गरिएको छ । “प्रदेश र स्थानीय तहमा कार्यरत विद्यालय नर्सहरूलाई क्षमता अभिवृद्धि तालिम” विषयमा आयोजित उक्त कार्यक्रम चैत्र १६ गतेदेखि चैत्र १९ गतेसम्म जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा सम्पन्न भएको थियो ।
चार दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा नर्सहरूलाई आयुर्वेदसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नुका साथै योग अभ्याससमेत गराइएको थियो । तालिममार्फत विद्यालय नर्सहरूले आयुर्वेदिक जीवनशैली, रोग प्रतिरोधात्मक उपाय तथा स्वास्थ्य प्रवद्र्धनका विषयमा विद्यार्थीहरूलाई जानकारी दिन सक्ने क्षमता विकास भएको आयोजकको विश्वास छ ।
साथै, विद्यालयको पाठ्यक्रममा समावेश गरिएको योग अभ्यासलाई व्यवहारमा लागू गर्नसमेत यस तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका तथा ललितपुर महानगरपालिकाका गरी २८ जना विद्यालय नर्सहरूको सहभागिता रहेको थियो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरकी कार्यालय प्रमुख डा. पुनम नेपालका अनुसार, यस्तो तालिमले विद्यालय स्तरमै स्वास्थ्य सचेतना बढाउने र दीर्घकालीन रूपमा विद्यार्थीहरूको जीवनशैली सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।
विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराउने यस किसिमको कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक प्रगति तथा समग्र विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।