Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्रामीण पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न

ग्रामीण पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न

रामहरि कार्की

१२, बैशाख २०८३
ग्रामीण पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न
images

ललितपुर । जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । दक्षिण ललितपुरका पर्यटकीय सम्भावनालाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकालाई लक्षित गरी विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गरिएको जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयालले जानकारी दिए । उनले ग्रामीण क्षेत्रमा लुकेर रहेका पर्यटन स्रोतहरूको पहिचान, संरक्षण र प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

jisasa3.jpeg

अवलोकनका क्रममा महांकाल गाउँपालिकामा रहेको प्रसिद्ध कालेश्वर महादेव मन्दिर पुगेका सहभागीहरूले धार्मिक आस्थासँगै ऐतिहासिक महत्वबारे जानकारी लिएका थिए । महांकाल गाउँपालिका–२ का वडा अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार स्वस्थानी व्रतकथामा वर्णन भएअनुसार सतिदेवीको निधनपछि भगवान महादेवले उनको मृत शरीर बोकेर विश्व परिक्रमा गर्ने क्रममा हालको कालेश्वर क्षेत्रमा कण्ठ पतन भएको मान्यता रहिआएको छ ।
उनले थपे, प्राचीनकालमा कालपुरुषले महादेवको दर्शनका लागि उक्त स्थानमा शिला स्थापना गरी कठोर तपस्या गरेका थिए । गोटीखेलको घडघडा नदी र मसानखोलाको संगमस्थलमा रहेको वैतरणी नदीको जल तथा सिसवनको अलौकिक चुनढुंगाको चन्दन घोटी दैनिक रूपमा पहाडको टुप्पोमा चढाउने परम्परा रहेको उल्लेख गर्दै उनले वर्षौँको तपस्यापछि पौष शुक्ल नवमीको मध्यरातमा महादेव प्रकट भई ‘तिमीले स्थापना गरेको शिवलिंग तिम्रै नामबाट प्रसिद्ध हुनेछ’ भनी वरदान दिएको किंवदन्ती सुनाए । सोही कारण उक्त स्थान कालेश्वर महादेवका नामले प्रख्यात भएको विश्वास गरिन्छ ।
समुद्र सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित कालेश्वर महादेव मन्दिर ललितपुरको प्याङगाउँवासीका लागि कुलदेवताका रूपमा पूजनीय छ । प्रत्येक वर्ष चैत पूर्णिमाका दिन यहाँ भव्य मेला लाग्ने गर्दछ, जहाँ ललितपुर, काभ्रे र मकवानपुरलगायत विभिन्न जिल्लाबाट हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।
प्याङगाउँस्थित आंगःछे (देवस्थल) मा प्रत्येक महिनाको औँसी र चतुर्थीका दिन विशेष पूजा हुने परम्परा रहेको छ । कालेश्वर महादेवकै प्रतिमूर्तिका रूपमा स्थापना गरिएको उक्त देवस्थलमा प्रवेशका लागि कडा धार्मिक नियमहरू लागू गरिएको छ, जहाँ मूल पूजारी, गुठियार र नाइकेहरू मात्र प्रवेश गर्न पाउने व्यवस्था रहेको छ ।

jisasa 2.jpeg
यसैगरी कार्यक्रम अन्तर्गत कोन्ज्योसोम गाउँपालिकामा निर्माण गरिएको कोन्ज्योसोम प्रतिमाको पनि अवलोकन गरिएको थियो । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले उक्त प्रतिमा गाउँपालिकाको गौरवको आयोजना भएको उल्लेख गर्दै यसको निर्माणले क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको बताए । समुद्र सतहबाट करिब २ हजार ५७५ मिटर उचाइमा रहेको फूलबारी डाँडाबाट एक दर्जनभन्दा बढी हिमाली शृङ्खलाहरू अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको उनले बताए । यसको परिकल्पनाकार पूर्वपालिका अध्यक्ष गोपिलाल सिंतान हुन् ।
त्यस्तै बागमती गाउँपालिकामा रहेको राडर क्षेत्रको अवलोकन गर्दै अध्यक्ष वीरबहादुर लोप्चनले उक्त क्षेत्रको प्राकृतिक सुन्दरता र पर्यटन सम्भावनाबारे जानकारी गराएका थिए । भट्टेडाँडामा अवस्थित मैरेभिरको राडर क्षेत्र साहसिक पर्यटन, दृश्यावलोकन तथा प्राकृतिक भ्रमणका लागि अत्यन्त उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने उनले बताए ।
कार्यक्रममा सहभागीहरूले दक्षिण ललितपुरका यस्ता ओझेलमा परेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा राज्य, स्थानीय तह तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औंल्याएका थिए । ग्रामीण पर्यटनको विकासले स्थानीय रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा सांस्कृतिक पहिचान संरक्षणमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरिएको थियो ।
ग्रामीण पर्यटनलाई दीगो र व्यवस्थित रूपमा अघि बढाउन पूर्वाधार विकास, पहुँच मार्ग विस्तार, प्रचारप्रसार तथा स्थानीय जनसहभागिता अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका थिए ।
कार्यक्रममा जिल्ला स्थिर सरकारी कार्यालयका कार्यालय प्रमुख, विभिन्न पालिकाका प्रतिनिधिहरू र पत्रकारसहितको टोली रहेको थियो । कार्यक्रम जिल्ला समन्वय अधिकारी हरिनारायण बेल्वासेले सहजीकरण गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख १२, २०८३ शनिवार - ०७:००:५९ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology