काभ्रे । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारू मगरले परम्परागत शैलीको पत्रकारिताबाट मात्रै अबको समयमा टिकिरहन सम्भव नभएको बताएका छन् । डिजिटल युगको चुनौतीलाई सामना गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) जस्ता आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनु आजको मुख्य आवश्यकता रहेको उनको भनाइ छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेश समितिको समन्वयमा धुलिखेलमा आयोजित दुई दिने ‘खोजमूलक पत्रकारिता तथा एआई’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष मगरले यस्तो धारणा राखेका हुन ।
“खोजमूलक पत्रकारितामार्फत डिजिटल युगमा एआईजस्ता आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै पत्रकारितालाई केन्द्रित गर्नु आजको आवश्यकता हो,“ उनले भने, “अझ त्यसमा पत्रकार महिलाहरूलाई प्रविधिमैत्री बन्न र सामाजिक विकासका मुद्दालाई गहिराइबाट उठाउन यस कार्यक्रमले विशेष मद्दत पुग्नेछ ।’’
अध्यक्ष मगरले निजी र सामुदायिक सञ्चारमाध्यमले आमसञ्चारको ठुलो हिस्सा ओगटेको उल्लेख गर्दै पछिल्लो समय सरकारले सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने गरी जारी गरेको निर्देशनात्मक परिपत्र सच्याएर सबै सञ्चारमाध्यमले बिज्ञापन पाउने वातावरणमा निर्माण गर्न माग गरे । तर, सरकारी विज्ञापन बितरणमा देखिएको बिकृति अन्त्यको लागि बिचौलियामुक्त गर्दै निष्पक्ष छानिवन गरिनुपर्ने बताए ।
कार्यक्रमका सभाध्यक्ष एवं सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। उनले आगामी दिनमा पत्रकार महासंघसँगको समन्वयमा यस्ता कार्यक्रमलाई अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यसै गरी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपानेले सामाजिक सञ्जालको बढ्दो प्रभाव र पत्रकार महिलाहरूको पलायन रोक्न यस्ता सशक्तीकरणका कार्यक्रमहरू फलदायी हुने विश्वास व्यक्त गरे । सहभागीका तर्फबाट नेपाल पत्रकार महासंघ ललितपुरका केन्द्रीय पार्सद अञ्जली तामाङले तालिम प्रभावकारी रहेको बताउँदै आगामी दिनमा यस्ता प्राविधिक विषयका कार्यक्रमको समयावधि बढाउन सुझाव दिइन् ।
शुक्रबारबाट शुरु भएको प्रशिक्षणका क्रममा प्रशिक्षक सरिता दाहालले महिला पत्रकारको सुरक्षा, चुनौती र लैंगिक समानता, नेपाल पत्रकार महासंघका केन्द्री उपाध्यक्ष नितु पण्डितले पत्रकार आचारसंहिता, फेक न्युज र जिम्मेवार पत्रकारिता र गोरखापत्र दैनिकका पत्रकार अजय शर्माले एआईको प्रयोग गरी समाचार सामग्री निर्माणका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका २१ जना क्रियाशील पत्रकार महिलाहरूको सहभागिता रहेको थियो ।