Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोल र डिजेल–मट्टितेलको भाउ घट्दा महँगिए हवाई इन्धन र खाना पकाउने ग्यास

पेट्रोल र डिजेल–मट्टितेलको भाउ घट्दा महँगिए हवाई इन्धन र खाना पकाउने ग्यास

दैनिकी न्यूज

१८, बैशाख २०८३
पेट्रोल र डिजेल–मट्टितेलको भाउ घट्दा महँगिए हवाई इन्धन र खाना पकाउने ग्यास
images

काठमाडौं । पेट्रोल र डिजेल–मट्टितेलको भाउ घटेको छ। शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँले घटाएको हो। पछिल्लो समय इन्धनको भाउ तीव्र वृद्धि भएपछि सरकारले आलोचना खेप्दै आएको थियो।

पेट्रोल र डिजेल–मट्टितेल थोरै सस्तो भए पनि हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले बढेको छ भने हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोमिटर अमेरिकी डलर ४६ ले बढेको निगमले जनाएको छ। त्यसैगरी हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकेभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ।

यसबाहेक खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५० रुपैयाँका दरले बढेको छ। यसअनुसार पेट्रोल प्रतिलिटर २१७ रुपैयाँमा झरेको छ भने डिजेल–मट्टितेल पनि प्रतिलिटर २२५ रुपैयाँमा झरेको छ। त्यसैगरी अब उपभोक्ताले ग्यास प्रतिसिलिन्डर १४।२ किलोग्रामको २ हजार १६० रुपैयाँ र ७।१ किलोग्रामको १ हजार ८० रुपैयाँ तिर्नुपर्ने भएको छ। यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर २६९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा १ हजार ८३१ अमेरिकी डलर मूल्य तोकिएको छ।

निगमले पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेको जनाउँदै सोही कारण पछिल्लो समय मूल्य समायोजन हुन नसकेको उल्लेख गरेको छ। निगमलाई इन्डियन आयल कर्पोरेसनबाट बिहीबार नयाँ खरिद मूल्यसूची प्राप्त भएको थियो। सोसँगै निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरेको हो।

images
प्रकाशित मिति :बैशाख १८, २०८३ शुक्रवार - ०७:१५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology