ललितपुर । ललितपुर बार एशोसिएशनको २९औँ कार्यसमितिको अध्यक्षमा अधिवक्ता कृष्ण प्रसाद सुवेदी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले ३ सय ४६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी अधिवक्ता दयाभक्त डङ्गोलले ३ सय ४० मत प्राप्त गरेका थिए ।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदको प्रतिस्पर्धा निकै कडा बनेको थियो । कुल ९ सय ४३ मतदातामध्ये ६ सय ९५ मत खसेको निर्वाचन दुई प्यानलबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो ।
उपाध्यक्षमा अधिवक्ता विजयकुमार बस्नेत ३ सय ५९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अधिवक्ता नवीन केसीले ३ सय २५ मत प्राप्त गरेका थिए । सचिव पदमा अधिवक्ता चन्द्रप्रसाद गुरागाईं ३ सय ८१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अधिवक्ता दिलीप देशारले ३ सय २ मत प्राप्त गरे ।
सह–सचिवमा अधिवक्ता मिरा महर्जन निर्वाचित भएकी छन् भने कोषाध्यक्षमा अधिवक्ता इन्दू पाण्डेय ३ सय ५७ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी अधिवक्ता आभासबहादुर प्रधानले ३ सय २२ मत प्राप्त गरेका थिए ।
निर्वाचित सदस्यहरूमा अधिवक्ता सन्ध्या कार्की, पवित्रा आलेमगर, आइमान तामाङ, गोपालराज अर्याल, दावा तामाङ, सरिता तिमल्सेना, गोविन्दबहादुर पुन, किरण पोख्रेल, रन्जित कँडेल र उजला महर्जन रहेका छन् ।
निर्वाचनपछि प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रकाश महर्जनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र लोकतान्त्रिक ढङ्गले सम्पन्न भएको बताए । उनले कानुन व्यवसायीहरूले लोकतान्त्रिक संस्कारको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै विजयी तथा पराजित सबै पक्षलाई धन्यवाद दिएका छन् ।
नवनिर्वाचित कार्यसमितिले कानुन व्यवसायीहरूको हकहित, व्यावसायिक मर्यादा तथा न्यायिक क्षेत्रको सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।