Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बैशाखमा ललितपुर प्रहरीको सक्रियताः १६२ मुद्दा दर्ता, फरार प्रतिवादी पक्राउदेखि लागुऔषध नियन्त्रणसम्म

बैशाखमा ललितपुर प्रहरीको सक्रियताः १६२ मुद्दा दर्ता, फरार प्रतिवादी पक्राउदेखि लागुऔषध नियन्त्रणसम्म

दैनिकी न्यूज

६, जेठ २०८३
बैशाखमा ललितपुर प्रहरीको सक्रियताः १६२ मुद्दा दर्ता, फरार प्रतिवादी पक्राउदेखि लागुऔषध नियन्त्रणसम्म
images

ललितपुर । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर ललितपुरले आर्थिक वर्ष २०८२–०८३ को बैशाख महिनामा सम्पादन गरेका विभिन्न सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ । परिसरका अनुसार एक महिनाको अवधिमा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन तथा लागुऔषध नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको हो ।

advertise.jpeg
प्रहरीका अनुसार बैशाख महिनामा १६२ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ५७ वटा जघन्य तथा गम्भीर अपराध, ५४ वटा आर्थिक अपराध र ५१ वटा अन्य प्रकृतिका मुद्दा रहेका छन् । यस अवधिमा विभिन्न चालु मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको परिसरले जनाएको छ ।
परिसरका अनुसार सार्वजनिक चासोका पेण्डिङ मुद्दामध्ये आर्थिक वर्ष २०८२–०८३ मा दर्ता भएको जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सन्तोष खनाललाई पक्राउ गरिएको छ । पक्राउपछि उनलाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ पनि प्रहरी सक्रिय देखिएको छ । बैशाख महिनामा ३६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये विभिन्न मुद्दामा गरी १० वर्ष २ महिना कैद सजाय तोकिएका व्यक्तिहरू रहेका छन् । यस क्रममा ५ करोड ५८ लाख ८४ हजार ४ सय रुपैयाँ बिगो तथा ३७ लाख ८१ हजार ६ सय २० रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरी व्यवस्थापनमा पनि प्रहरी सक्रिय रहेको जनाइएको छ । यस अवधिमा हराएका तथा फेला परेका महिला, पुरुष र बालबालिकासम्बन्धी घटनाको खोजतलास तथा उद्धार कार्य गरिएको छ । घरेलु हिंसासम्बन्धी १३ वटा उजुरी दर्ता भएकोमा केही घटनामा मिलापत्र तथा केहीमा अदालत प्रक्रिया अगाडि बढाइएको परिसरले जनाएको छ ।
यस्तै, ठाडो उजुरी तथा जिल्ला प्रशासन कार्यालयमार्फत आएका उजुरीहरूको पनि ठूलो संख्यामा फर्छ्योट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अधिकांश उजुरी समाधानतर्फ उन्मुख रहेका छन् ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले विभिन्न स्थानबाट गाँजा, खैरो हेरोइन, पोल्याण्ड, डाइजापाम, फेनारगन, नुफिन, ट्रामाडोललगायतका लागूऔषध बरामद गरेको छ । सोही अवधिमा लागूऔषध कारोबारमा संलग्न २८ जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ ।
यसैबीच, ललितपुर महानगरपालिका–४ बागडोलस्थित एक घरमा भएको करिब ७९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टेकु बस्ने ३२ वर्षीय अमन देउला तथा चोरीका गरगहना खरिद गरी गलाउने कार्यमा संलग्न भारत पश्चिम बंगाल घर भई हाल काठमाडौं बस्ने ४७ वर्षीय स्वपन चक्रवर्ती रहेका छन् । उनीहरूबाट विभिन्न सुन तथा चाँदीका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, ललितपुरको सानेपाबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट विभिन्न प्रकारका लागूऔषध, नगद ८३ हजार ४ सय रुपैयाँ, मोबाइल तथा ल्यापटप समेत बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रण, अनुसन्धान तथा समुदायमा शान्ति सुरक्षा कायम गर्न आफ्नो अभियान निरन्तर जारी रहने बताए ।

images
प्रकाशित मिति :जेठ ६, २०८३ बुधवार - ०६:३२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology