Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा अकुपञ्चरतर्फ आकर्षण बढ्दो

ललितपुरमा अकुपञ्चरतर्फ आकर्षण बढ्दो

दैनिकी न्यूज

२०, जेठ २०८३
ललितपुरमा अकुपञ्चरतर्फ आकर्षण बढ्दो
images

ललितपुर । परम्परागत चिनियाँ चिकित्सा पद्धतिका रूपमा परिचित अकुपञ्चर उपचार सेवा पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । शरीरका विशेष बिन्दुहरूमा मसिना सुई प्रयोग गरेर गरिने यो उपचार पद्धतिले दुखाइ कम गर्न, शरीरको ऊर्जा सन्तुलन कायम गर्न तथा विभिन्न रोगको उपचारमा सहयोग पु¥याउने चिकित्सकहरू बताउँछन् ।
आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय ललितपुरका कार्यालय प्रमुख डा. पुनम नेपालका अनुसार अकुपञ्चर शरीरका विशेष बिन्दुहरूमा संक्रमणरहित सुई घोचेर गरिने उपचार विधि हो । यसले शरीरभित्रको प्राकृतिक ऊर्जा सन्तुलित बनाउन, रक्तसञ्चारलाई सुचारु गर्न तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
उनका अनुसार शरीरमा रहेका मुख्य ३ सय ६१ वटा अकुपञ्चर बिन्दुमध्ये बिरामीको रोग र अवस्थाअनुसार आवश्यक बिन्दु छनोट गरी उपचार गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि अकुपञ्चरलाई विभिन्न रोगमा प्रभावकारी उपचार पद्धतिका रूपमा स्वीकार गरेको बताइन्छ । विशेषगरी कम्मर, घुँडा, काँध तथा गर्दन दुख्ने समस्या, बाथ, नसाच्यापिने समस्या (साइटिका), पक्षघात, टाउको दुखाइ वा माइग्रेन, ग्यास्ट्रिक, कब्जियत, अपच, मानसिक तनाव, चिन्ता तथा अनिन्द्राजस्ता समस्यामा यसको प्रयोग प्रभावकारी देखिएको चिकित्सकहरूको भनाइ छ ।
डा. नेपालका अनुसार अकुपञ्चर उपचारको अवधि बिरामीको अवस्था र रोगको प्रकृतिअनुसार फरक–फरक हुन्छ । सामान्य दुखाइका समस्या भए एक पटकको उपचारले पनि राहत मिल्न सक्ने भए पनि पक्षघातजस्ता जटिल समस्यामा नियमित रूपमा उपचार गर्नुपर्ने हुन्छ । केही बिरामीले १५ दिनदेखि तीन–चार महिनासम्म नियमित सेवा लिनुपर्ने अवस्था रहने उनले बताइन् ।
उनका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय ललितपुरबाट तीन हजार ९ सय ४५ जनाले अकुपञ्चर सेवा लिएका छन् । चिकित्सालयमा यो सेवा निःशुल्क रूपमा उपलब्ध रहेको उनले जानकारी दिइन् ।
चिकित्सकहरूका अनुसार अकुपञ्चर औषधिविहीन (नेचुरल एन्ड ड्रग फ्री) उपचार पद्धति भएकाले यसको साइड इफेक्ट न्यून हुने मानिन्छ । तर, सुरक्षित र प्रभावकारी उपचारका लागि अकुपञ्चर विषय अध्ययन तथा तालिम प्राप्त जनशक्तिबाट मात्रै सेवा लिनुपर्नेमा उनीहरूले जोड दिए ।

 

images
प्रकाशित मिति :जेठ २०, २०८३ बुधवार - १०:२५:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology