काठमाडौँ। जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन तीनकुनेस्थित मन्डला ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृतिककर्मी तथा कवि भीम कुमाखीलाई संयोजक र अष्ट लामालाई सहसंयोजकमा चयन गर्दै ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति तथा ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति गठन गरेको छ।
सम्मेलनको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्यमा उनले नेपाली कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा देखिए पनि नयाँ उत्साहका साथ देश र जनताको पक्षमा अघि बढ्ने विश्वास व्यक्त गरे। कम्युनिस्ट आन्दोलन आमूल परिवर्तनको संवाहक भएको उल्लेख गर्दै उनले आन्दोलनभित्र देखिएका अराजकता र कमजोरीप्रति सचेत रहनुपर्ने बताए। साथै, नयाँ पुस्तालाई विचार र संगठनको आन्दोलनमा जोड्दै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका विशिष्ट अतिथि गङ्गानारायण श्रेष्ठले विश्व समाजवादी संस्कृति, नेपाली समाजवादी संस्कृति तथा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी र आक्रामक दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले कला, साहित्य र संस्कृति सामाजिक परिवर्तनका महत्वपूर्ण माध्यम भएको बताए।
सम्मेलनमा महासङ्घका इन्चार्ज चिरन पुनले विधान तथा प्रतिबद्धतापत्र प्रस्तुत गर्दै प्रगतिशील सांस्कृतिक अभियानलाई अझ धारिलो र प्रभावकारी बनाउँदै लैजानुपर्ने धारणा राखे। सहइन्चार्ज उदय श्रेष्ठले स्वागत मन्तव्यका क्रममा प्रगतिशील सांस्कृतिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै विभाजनभन्दा एकताले आन्दोलनलाई थप उचाइमा पुर्याउने बताए।
कार्यक्रममा महासङ्घका पूर्व इन्चार्ज डा. गोपाल ठाकुर, नेकपा जनवर्गीय सङ्गठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा तथा महासङ्घका पूर्व अध्यक्ष मातृकाप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नवनिर्वाचित संयोजक भीम कुमाखीले लेखक तथा कलाकारहरूको एकता प्रक्रियालाई सार्थक बनाउँदै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। सम्मेलनले कला, साहित्य र संस्कृतिको माध्यमबाट समाज रूपान्तरणको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यदिशासमेत तय गरेको छ।
सम्मेलनमा कलाकार उदय श्रेष्ठ, झङ्कार बुढा, कर्ण विद्रोही, धनु ज्ञयामी, दीपक राई, एलिना, डम्बर रोकाया र पूजा श्रेष्ठलगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने कवि राजाराम राउतले कविता वाचन गरेका थिए। महासङ्घकी कार्यालय सदस्य कुस्मा महरा ‘प्रगति’ले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
कार्यक्रमभर प्रस्तुत गीत, कविता तथा सांस्कृतिक प्रस्तुतीहरूले सम्मेलनलाई थप उत्साहपूर्ण र आकर्षक बनाएका थिए।