काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक अवस्थित छ। यसकै प्रभावले देशभर अधिकांश स्थानमा बदली रही विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने तथा कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
मनसुन सक्रिय रहेकाले गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको भन्दै विभागले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले स्थानीय प्रशासन र सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।