Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनप्रतिनिधिकै अवैद्य ढुंगा खानी, रोकिएन निकासी

जनप्रतिनिधिकै अवैद्य ढुंगा खानी, रोकिएन निकासी

दैनिकी न्यूज

२२, आषाढ २०७५
जनप्रतिनिधिकै अवैद्य ढुंगा खानी, रोकिएन निकासी
images

ललितपुर, असार २२ । दुई दशकपछि विकास निर्माण र जनताको समस्या सुल्झाउन चुनिएका जनप्रतिनिधिले वन र नदी किनारलाई गरिखाने भाडो बनाएका छन् । स्थानीयका समस्यालाई नजरअन्दाज गर्दै उनीहरू धमाधम अवैध ढुंगा र बालुवा निकासीमा लागेका हुन्।

ललितपुरको दक्षिणी भेगमा पर्ने लेले टिकाभैरव र देवीचौर क्षेत्रका वन र खोला किनारमा हिजोआज डोजर र एक्जाभेटर निर्वाध रुपमा चलेका छन् । यी ठाउँमा जनप्रतिनिधिले निजी सम्पत्ति झैँ गरी ठूल्ठूला स्काभेटर (हेभी इक्युप्मेन्ट) को प्रयोग गरी ढुङ्गा उत्खनन् गरिरहेका छन् । अहिले वनमा स्काभेटर, भ्रेकर (भाइब्रेसनका मद्दतले ठूल्ठूला ढुङ्गा फोर्ने मेसिन) चलाएको प्रत्यक्ष नियाल्न पनि सकिन्छ । यसमा जनप्रतिनिधिकै प्रत्यक्ष संग्लनता छ ।

गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जन, स्थानीय व्यापारी विरेन्द्र महर्जन, श्याम महर्जन, मधुसुदन डोटेल लगायतको संलग्नता भेटिएको छ। मिलोमत्तोमा टिकाभैरव र देवीचौर क्षेत्रका वन र खोला किनारमा अवैध ढुंगा र बालुवा निकासी गर्दै आएपछि त्यसको प्रत्यक्ष असर स्थानीयमा परेको छ । स्थानीयले चर्को विरोध गर्दै आएतापनि त्यसमा मेयर र वडाध्यक्षको प्रत्यक्ष संलग्नता भएकोले बन्द अबैध निकासी हुन सकेको छैन । ‘घरै थर्कने गरी घर अगाडिबाट सयौं ढुंगा र बालुवा भरिएका ट्रिपर दौडन्छन्,’ लेलेका स्थानीय हरि तिमल्सिनाले भने, ‘हामीले नै भोट दिएका जनप्रतिनिधि यस्तो खेलमा लागेका छन्, यसलाई हामीलाई असर गरेको छ ।’ उनले घर नजिकै रहेको टिकाभैरव र देवीचौर क्षेत्रमा वन ढुंगा निकासीले मासिन थालेको बताए।  

टिकाभैरवका अर्का स्थानीय लक्ष्मण रानाले वन मासेर अवैध ढुंगा निकासी थालिएसँगै खानेपानीका मुहान सुक्न थालेको बताए । ‘दुई लेनको बाटोमा चौंविसै घण्टा ढुंगा र बालुवा भरिएका ट्रिपर मात्रै गुड्छन्,’ उनले भने, ‘अवैध रुपमा चलेका यी खानीले हामीलाई निकै सास्ती पुर्याएको छ ।’ उनले यसमा जनप्रतिनिधिकै हात रहेकोले स्थानीयले बन्द गराउन नसकेको बताए । ‘हामीले बन्द गराउन माग राख्ने ठाउँ त्यहीँ नगरपालिका र प्रहरी हो,’ उनले थपे, ‘त्यसमा पनि मिलोमत्तो भएपछि कहाँ जाने ?’ उनका अनुसार निर्वाचित भएयता जनप्रतिनिधिहरू यस क्षेत्रका विभिन्न ठेकेदार र टोलका जग्गा व्यवसायी उठाएर दर्तै नगरी खानी सञ्चालन गरेका छन् ।

अवैध निकासी थालिएसँगै टिकाभैरव र देवीचौर क्षेत्रका वनको क्षेत्रफल घट्न थालेको छ । करिब १० रोपनी क्षेत्रफलमा ढुंगा निकासी भइरहेको छ । टिकाभैरव र देवीचौर क्षेत्रमा रहेको ढुंगाखानीमा वडाध्यक्ष महर्जनको लगानी छ । उनी प्रायः खानी सञ्चालन भएको ठाउँमै भेटिन्छन् । गत मंगलबार त्यस क्षेत्रमा पुग्दा महर्जन ढुंगा निकासी भइरहेको ठाउँमा भेटिएका थिए । उनले भूकम्पपछिको पुनर्निर्माणको लागि स्थानीयलाई सहयोग गर्न ढुंगा खानी सञ्चालन गरेको दाबी गरे । ‘यो पनि एक किसिमको व्यवसाय हो, यसले पुनर्निर्माणमा सघाएको छ,’ वडाध्यक्ष महर्जनले भने, ‘हामीले ठाउँ हेरेर विनास नगर्ने हिसाले ढुंगा निकासी गर्दै आएका छौं ।’ उनले क्षेत्रमा यसरी अवैध रुपमा चल्ने खानी आफ्ना मात्रै नभएको बताए । ‘अरु पनि नियममा बाधिएर व्यवसाय गर्न थालेभने मैले पनि नियमसँगत रुपमै व्यवसाय चलाउँछु,’ उनले भने, ‘कसैलाई हानी नपर्ने ठाउँमा व्यवसाय गर्न पनि कस्को स्वीकृति लिउँ।’ महर्जनले सोही वडा कै दुम्सीडोल ठूलो सामुदायिक वन, दैवीचौर सामुदायिक वन मासेर अवैध ढुङ्गा खानी सञ्चालन गर्न ठेकेदारहरुलाई अनुमति दिएका छन् । उनी गोदावरी नगरपालिकाका खानी संयोजक समेत हुन् । वडाध्यक्षले नै वन मास्न थालेपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय र गोदावरी नगरपालिका निवेदन समेत दिएको बताए । ‘हामीलाई यसले प्रत्यक्ष असर पारेको छ,’ स्थानीय हरिष तिमल्सिनाले भने, ‘तर, माथिल्लो निकायले हाम्रो गुनासोलाई सम्बोधन गरेन ।’ त्यस क्षेत्रबाट भरिएका ट्रिपर सहर छिर्ने मुख्य चेकपोष्ट महानगरीय प्रहरी वृत चापागाउँ हो । तर, अवैध ढुंगा निकासी भइरहँदा पनि प्रहरी रमिते बनेको छ ।

स्थानीयले यसअघि अराजक किसिमले गुडेका ट्रिपर रोक्न प्रहरीलाई खबर समेत गरेका थिए । तर, प्रहरीले यसबारे चासो नदिएको स्थानीयको गुनासो छ । ‘विकास गर्लान् र हाम्रा समस्या सल्टाउलान भनेर भोट हालियो,’ स्थानीय तेजकृष्ण तिम्लिसिना (६९) ले भने, ‘निर्वाचित भएपछि झन् नयाँ समस्या सिर्जना गरिदिएका छन्, हामीले प्रहरीलाई पनि यसबारे खबर गरेका थियौं तर प्रहरीले यस क्षेत्रमा पुगेन।’ महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी राजकुमार खियजु यस विषयमा आफूले सम्वद्ध निकाय समक्ष कुरा राखिसकेको जानकारी दिए । उनले खानी र क्रसर उद्योगको निगरानी गर्ने र बन्द गराउने अधिकारी प्रहरीलाई नभएको बताए । ‘यहाँ प्रहरीलाई बीचमा हालेर फाइदा लिनेहरु धेरै छन्, खासमा प्रहरीको कुनै हात छैन, यसमा गोदावरी नगरपालिकाकै गड्बडी देखिन्छ,’ उनले भने, ‘बजार क्षेत्रमा जाम हुन थालेपछि नगरपालिका र जिल्ला प्रशासन कार्यालय समक्ष समस्या राखेको थिएँ ।’ उनका अनुसार यो विषय लामो समयदेखि विवादमा पर्दै आएको छ ।

यसअघि स्थानीयले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय गराउन निर्देशन दिएको थियो, तर अदालतले स्टे अडर जारी गरेपछि अवैध निकासीले निरन्तरता पाएको थियो । ‘एकचोटी बन्द हुने चरणमा पुगेको थियो,’ डिएसपी खियजुले भने, ‘अदालतले धडपकड नगर्नु र काम गर्न दिनु भनेर स्टे अडर जारी गरेपछि निर्वाध रुपमा चल्न थाले ।’त्यसो त गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पनि यस क्षेत्रका अवैध खानी र निकासीलाई संरक्षण गर्दै आएका छन् ।

उनले उनले दर्ताबिनै चलेका क्रसर उद्योग र खानीलाई कुनै कारवाही गरेका छैनन । ‘प्रदेश सरकारको कानुन नबन्दा अप्ठेरो भएको थियो, अब कानुनमा जे उल्लेख छ त्यही अनुसार खानी सञ्चालन हुन्छन्,’ उनले भने, ‘मैले भोली नै खानी अनुगमनमा पठाउँछु ।’ उनले वडाध्यक्ष विष्णुमानले चलाएको दुई ढुंगाखानीमध्ये एक अवैध रहेको खुलाए ।ढुंगा र बालुवा बोकेर हुँइकिने सवारीले सडक नै धुलाम्य पारेका छन् ।

१ बर्षअघि कालोपत्रे गरिएको लेले–टिकाभैरव सडक पनि ट्रिपरकै कारण खाल्डाखुल्डीमा परिणत भएको छ । देवीचौर र लेलेमा मात्रै होइन, नल्लु, डुकुछाप, बागमती गाउँपालिका विभिन्न क्षेत्रमा पनि यसरी नै अबैध ढुंगा र वालुवा खानी, क्रसर तथा वालुवा वासिङ उद्योग निर्वाध रुपमा सञ्चालन भइरहेका छन्।

images
प्रकाशित मिति :आषाढ २२, २०७५ शुक्रवार - ०९:२५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology