Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रहरीकै संरक्षणमा जुवा !

प्रहरीकै संरक्षणमा जुवा !

रामहरि कार्की

२, कार्तिक २०७६
प्रहरीकै संरक्षणमा जुवा !
images

ललितपुर, कात्तिक २ । असोज २५ गते शक्तिशाली मुलुक चीनका राष्ट्रपति सी जिङफिङ नेपाल आएका थिए । उपत्यकाभरिका प्रहरी प्रमुख र प्रहरीहरु उनको सुरक्षार्थ खटिएका थिए । ललितपुर परिसर र मातहतका प्रहरी प्रमुखहरु पनि सीको सुरक्षाको लागि काठमाडौंको सडकमा खटिएका थिए ।

यता चापागाउँ क्षेत्रका प्रहरी प्रमुख नभएको बेला भने जुवाडे र त्यसका संरक्षकहरुलाई दाउ मिल्यो । प्रहरी नभएको मौका छोपी लेले स्थित एक घरमा जुवाडेहरु जुवाको खालमा जमिरहेका हुन्छन् । दशैसकिएछि पनि जुवातासमा तल्लिन भएका युवाहरु देखेर स्थानीय कोहीले चापागाउँ वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकृष्ण सापकोटालाई फोन गर्छन । डिएसपी सापकोटाले प्रहरी प्रभाग लेलेका प्रमुख प्रहरी नायव निरीक्षक (सई) देवानन्दन यादवलाई फोन गर्छ । सई यादव जुवातास खेलीरहेका ठाउँमा हुन्छन् । तर यादवले प्रहरी प्रमुखलाई ‘सर ! यहाँ जुवातास कसैले पनि खेलेका छैनन’ जवाफ फर्काउन् । फेरि वृत्त प्रमुख सापकोटाको मोबाइल फोनमा घटनास्थलबाटै एक जनाले फोन गर्छ । ‘सर ! यहाँ प्रहरीहरु आएका छैनन !’ फेरि ती वृत्त प्रमुखले सई यादवलाई फोन गर्छन । ‘किन नगएको ?’ फेरि सई जबाफ दिन्छन् ‘सर ! यहाँ जुवातास कसैले खेलेका छैनन ।’ चिनिया राष्ट्रपति सीको सवारीमा खटिएकाले डिएसपी सापकोटा त्यहाँ पुग्न सम्भव थिएन ।

यो घटना हो असोज २५ गते बेलुका, महानगरिय प्रहरी प्रभाग लेले क्षेत्रको । त्यो प्रभाग महानगरिय प्रहरी वृत्त चापागाउँ अन्तर्गतको हो । वृत्त प्रमुख हुन्– डिएसपी रामकृष्ण सापकोटा । उनी भन्छन्– ‘आफूले दुईवटा फोन बोकेको छु, एउटामा स्थानीयले जुवातास खेलीरहेको छ भनेर खबर गर्छन । अर्को फोनमा सई देवानन्दन यादवले सर ! यहाँ जुवातासको खेल भएको छैनन भनेर फोन गर्छन ।’ प्रभाग लेलेको सई यादवमाथि विश्वास गर्दैनन डिएसपी सापकोटा । अनि आफ्नो टोली घटनास्थलमा पठाउछन् सई आनन्द बाटाको नेतृत्वमा । त्यहाँ प्रहरी पुगेपछि प्रहरी नै छक्क पर्छन् । ती सई जुवातास खेलीरहेको घरको ढोकामा भेटिन्छन् । १० मिनेटसम्म सई बाटालाई जुवातास खेलीरहेको घरभित्र प्रवेश गर्न दिदैनन् । जुवाडेलाई भगाउन सहयोग गर्छन सई यादव । यो भनाई हो डिएसपी सापकोटाको ।

यसभन्दा अगाडि पनि महानगरिय प्रहरी प्रभाग लेलेमा विवादित बनेपछि सई यादवलाई परिसर तानिएका थिए । फेरि पनि उनी विवादित बनेपछि परिसर तानिएको डिएसपी सापकोटाले बताए । त्यस्तै असोज १७ गते ललितपुरबाट समातिएका ११ जना जुवाडे असोज १८ गते साधारण तारेखमा छोडिएका थिए ।

असोज १७ गते जिल्ला प्रशासन कार्यालय ललितपुरले ७ दिनको म्याद थपि गरी आवश्यक अनुसन्धान गर्न आदेश दिएको थियो । तर मुद्धाको अन्तिम किनारा नलाग्दै राजनीतिक दलका नेताको दबाब खेप्न नसकी जुवाडेलाई प्रहरीले छोडेको थियो । पछिल्लो समय बाह्रमासे जुवा खेलाडीहरूले ललितपुरलाई ‘इजी–जोन’ को रूपमा प्रयोग गर्न थालेका छन् । ललितपुर प्रहरीले जुवाडेहरुलाई केही सजिलो गरेसँगै ललितपुरलाई जुवाडेहरूले सुरक्षित क्षेत्रको रूपमा प्रयोग गर्न थालेका हुन् ।  

४ महिनामा ९ टोली पक्राउ

घटना नं. १ : ललितपुर महान–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नगद २ लाख ६५ हजार रुपैयाँ र ९ बुक तास सहित असोज १७ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विष्णुप्रसाद तिमल्सिना, कुमार तामाङ, मिनराज पहरी, भिक्टोर केसी, लबराज लिम्बु, अच्युत महर्जन, राजेश महर्जन, विजय सिलावाल, विनोद राज गिरी, कृति जोशी र कुमार सिलवाल रहेका थिए । सोही दिन जिल्ला प्रशासन कार्यालय ललितपुरले जुवाडेलाई ७ दिनको म्याद थपि गरी आवश्यक अनुसन्धान गर्न आदेश दिएको थियो । तर मुद्धाको अन्तिम किनारा नलाग्दै राजनीतिक दलका नेताको दबाब खेप्न नसकी जुवाडेलाई मुद्धाको अन्तिम किनरा नलागुन्जेल दिनहुँ हाजिर हुने शर्तमा साधारण तारिखमा छोडियो ।

घटना नं. २ : ललितपुर महानगर–४ नख्खुस्थित प्याराडाईज ड्राईभिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई नगद ५९ हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित असोज ८ गते राति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखा घर भएका वर्ष ३० का दिपेश थापा, न्यूरोड काठमाडौं निवासी वर्ष ३६ का रविन कपाली, रामेछापका वर्ष ३० का दिपक बस्नेत र चितवन घर भएका वर्ष ३४ का अर्जुन सापकोटा रहेका थिए ।

घटना नम्बर ३ : गोदावरी नगरपालिका–९ छम्पीस्थित एक खाली टहरामा ९ जना जुवाडेहरू तास तथा कौडा खेलिरहेका थिए । जुवा खेलिरहेको सूचना पाएपछि महानगरिय प्रहरी प्रभाग बुंगमतीका प्रहरी निरीक्षक शान्ता वाइवाको नेतृत्वमा गएको प्रहरी टोलीले ती जुवाडेलाई भदौ १७ गते नगद ५५ हजार ३६० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा पुष्पराज गौतम, ज्ञानभक्त महर्जन, विनोद थापा, रामकाजी थापा, नवराज थापा, इन्द्र थापा, राम प्रसाद थापा, भुवन केसी र जीवन केसी रहेको थिए ।

घटना नम्बर ४ : ललितपुर महानगर–२३ धापाखेलस्थित रञ्जित महर्जनको डाउनटाउन अपार्टमेन्टबाट साउन २२ गते १२ जना जुवाडेहरू कौडा खेलिरहेका थिए । जुवा खेलिरहेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रको नेतृत्वमा गएको टोलीले ती जुवाडेलाई नगद ८ लाख ४० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा शैलेश महर्जन, प्रकाश महर्जन, गिता स्थापित, किशोर देशार, बिनोद अवाले, विकेशराज बज्रचार्य, विजय शाक्य, महेश शाक्य, रविन महर्जन, उमेश महर्जन, रवि महर्जन र रंजित महर्जन रहेको जरुरी पक्राउ पूर्जीमा उल्लेख थियो । जुवाडेलाई छुटाउन ललितपुरका नेकपाका प्रदेश सांसदसमेत वृत्तमा पुगेका थिए ।

घटना नम्बर ५ : गतअसार २९ गते महानगरीय प्रहरी वृत्त चापागाउँले ४१ हजार नगदसहित ५ जना जुवाडेलाई ठेचोबाबट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामबहादुर नेम्बाङ, कुशल लिम्बू, प्रेम कुमार लिम्बू, प्रताप राई र दुर्गा लिम्बू रहेका थिए ।

घटना नम्बर ६ : गतअसार २७ गते महानगरिय प्रहरी वृत्त चापागाउँले एकैदिन २ टोली जुवाडेलाई दुई स्थानबाट नियन्त्रणमा लिएको थियो । गोदावरी नगरपालिका टाहाखेल र ललितपुर महानगर, सुनाकोठी क्षेत्रमा जुवा खेलिरहेका २२ जना जुवाडेहरुलाई पक्राउ गरेका थिए । ती दुई स्थानबाट प्रहरीले ६ लाखभन्दा बढी नगद बरामद गरेको थियो । सुनाकोठी ओखटबाट पक्राउ पर्नेहरुमा अदिप राई, अशोक राई, दीपेन्द्र राई, मान बहादुर श्रेष्ठ, अनुप नगरकोटी, जीवन लामा, रेन्जी शेर्पा र दीप तामाङ थिए । त्यस्तैगरी गोदावरी–१० टाहाखेलबाट कृष्णचन्द्र देशार, सन्चलाल पाख्रिन, सन्तोष बजगाई, राजु तामाङ, विजय तामाङ, नारायण भोम्जन तामाङ, झलक तामाङ, विषे तामाङ, कान्छा तामाङ, रवि महर्जन, कुमार भोम्जन, हेम बहादुर तामाङ, अजय तामाङ र आशा तामाङलाई नियन्त्रणमा लिएका थिए ।

घटना नम्बर ७ : गतअसार २३ असारमा ललितपुरको गोदावरी क्षेत्रमा रहेको वृन्दावन रिसोर्टमा ७ जुवाडे जुवाखाल चलाइरहेका थिए । स्थानीयको सूचनाको आधारमा सातदोबाटोका डिएसपी गौतिम मिश्रको कमाण्डमा खटिएको प्रहरीले सो रिसोर्टबाट ११ लाख नगदसहित ७ जुवाडेलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बाबुराम तामाङ, मिन बहादुर खत्री, शम्भु पाण्डे, कुमार लामिछाने, मदन बाबु दबाडी, विनोद प्रसाद घिमिरे र सनोज नेपाली रहेका थिए ।

घटना नम्बर ८ : गतअसार ३ गते ललितपुर महानगर–१३ नख्खु बस्ने ओमप्रकाश अग्रवालको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगर–१४ बस्ने ३७ वर्षीय सुमन कार्कीसमेत २ जनालाई नगद ३ लाख ६५ हजार रुपैयाँ, १६ थान कौडा र ३ बुक तास सहित महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । जुवा खेल्ने अन्य ६–७ जना भाग्न सफल भएका थिए ।

माथिका केही प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो केही महिनायता ललितपुर क्षेत्र जुवाडेहरूको ‘हब’ नै बनेको छ । जुवाडेहरूले मोबाइल टिम बनाएर गोदावरीदेखि मंगलबजारसम्म जुवा खेल्ने गरेको पाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७६ शनिवार - १५:३२:२८ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology