रामहरि कार्की/ललितपुर, माघ १२ । ललितपुर महानरपालिकाका प्रमुख चिरीबाबु महर्जन फेरि बैदेशिक भ्रमणमा निस्किएका छन् । २०७४ जेठ ११ गते स्थानीय तहको चुनावबाट निर्वाचित भएपछि देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा बढी बैदेशिक भ्रमण गर्नेमा उनी अग्रस्थानमा रहेका छन । शनिबार महर्जन जापान भ्रमणमा गएका हुन् । उनको यो १३ औं बैदेशिक भ्रमण हो । ललितपुर महानगरपालिकाका प्रमुख महर्जन गरीब लक्षित सहरी पुनर्उत्थान परियोजना (पीयूआरपीपी) अन्तर्गत दोस्रो चरणको छलफल कार्यक्रममा सहभागी हुन शनिबार जापान गएको महानगरपालिकाका प्रवक्ता राज महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्व बैंक र जापान सरकारको संयुक्त आयोजनामा आउँदो सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी शनिबार त्यसतर्फ गएका हुन् । यसअघि ललितपुर मेयर महर्जन अक्टोबर ७ देखि ११ सम्म 'इकोसिटी वल्र्ड समिट–२०१९’ मा सहभागी हुन क्यानडा गएका थिए ।
ब्रिटिस कोलम्बिया इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इकोसिटी विल्डर्सको निमन्त्रणमा क्यानडा गएका थिए । उक्त सम्मेलन सहभागी भएपश्चत मेयर महर्जन करिब १ महिना अमेरिका बसेर फर्केका थिए । महर्जन नेतृत्वको टोलीले करिब ३ वर्षको अवधिमा चार पटक जापान, दुई पटक थाइल्यान्ड, दक्षिण कोरिया, श्रीलंका, चीन, म्यान्मार, मंगोलिया, भियतनाम, क्यानाडको एक/एक पटक भ्रमण गरेका छन् । अझै उनले केही देशको भ्रमण कार्यसूची तय गरिसकेका छन् । चुनावी मैदानमा होमिँदैगर्दा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरका स्थानीय सिर्जना र उत्पादनको बजारको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । सोहीताका हस्तकला, चित्रकला, मूर्तिकला, काष्ठकलामा लागेका युवा उद्यमीहरुको सीप र क्षमता विकास गरिने घोषणा–पत्रमा उल्लेख गरे । पुल्चोकदेखि कुपण्डोल बागमतीसम्म फ्लाइओभर, बुङ्मतिदेखि बुढानिलकण्ठसम्म मेट्रोरेल, सबै मुख्य सडकमा सोलार बत्ती जडान, हरियाली वृद्धि गर्न वृक्षारोपण, ट्राफिक लाइट व्यवस्थित गर्ने, आधुनिक उपकरण ल्याएर सडकको फोहोर हटाउने, आकाशेपुल र जेब्राक्रस विकास र सार्वजनिक यातायातमा सुधार गर्ने बाचा गरे । बालशिक्षालाई थप प्रभावकारी बनाई सबै बालबालिकालाई अनिवार्य बालशिक्षा दिइने प्रतिवद्धता प्रमुख महर्जनले मतदातासामु राखेका थिए । चुनावताका जनताको मन तान्न अनेक आश्वासन देखाएका महर्जनले चुनाव जितेपछि देखिनेगरी महानगरमा केही नगरेको महानगरवासीको आरोप छ ।विकासका आफ्ना एजेण्डामा विदेशी विकास साझेदार संस्थाले चासो देखाउने तर डिजाइन, निर्माण कम्पनी छनोट र बजेटका विषयमा ढिलाइ हुँदा केही समस्या देखिए पनि आफ्ना प्रतिवद्धता पूरा हुने चरणमा रहेको प्रमुख महर्जनले बताउन छोडेका छैनन् ।
पुरा भएनन् मेयर महर्जनका योजना
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पद सम्हालेको करिब ३ वर्ष पूरा भएको छ । कर्मचारीहरुले सम्हाल्दै आएको महानगरपालिकाको कार्यसम्पादनको तुलनामा नागरिकले निर्वाचित गराएको जनप्रतिनिधि आएपछि सन्तोषजनक सुधार भएको महानगरबासीको भनाइ छ । प्रमुख महर्जनले ललितपुरलाई ट्राफिक जाममुक्त महानगरपालिका घोषणा गरे पनि ललितपुरको ट्राफिक जाम ज्यूँका त्युँ छ । पुल्चोकदेखि हरिहरभवनसम्म सोलारबत्ती जडान गर्ने योजना पनि सार्वजनिक गरेका महर्जनले यस योजनालाई कार्यान्वयन गराउन सकेका छैनन् । सडकमा आवश्यक अध्ययन र पर्याप्त सडक पूर्वाधारबिना नै जाममुक्त महानगर घोषणा गर्दा उक्त योजना केबल योजनामा मात्र रहेको स्थानीयको गुनासो छ । महानगर प्रमुख महर्जनले घोषणा गरेका अल्का हस्पिटलअगाडि पाटन अस्पतालअगाडि, लगनखेल चोकमा दुई अकासेपुल बनाउने, पुल्चोकदेखि बाग्मती पुलसम्म फ्लाइओभर ब्रिज बनाउने, संवेदनशील क्षेत्रमा सिसिटिभी र सोलारबत्ती जडान गर्नेलगायत कुनै पनि योजना सुरु हुन सकेका छैनन् । यसका साथै भूकम्पले क्षति पु¥याएका ऐतिहासिक सम्पदाहरुको पुननिर्माण, छाडा चौपाया व्यवस्थापन, हरियाली अभिवृद्धि, साक्षरता वृद्धि, सडकको अवस्था सुधारका काममा महानगरले खासै काम गर्न नसकेको महानगरबासीको गुनासो रहेको छ ।
विकास बजेट खर्च गर्न सक्दैनन् मेयर महर्जन
गत आव २०७५/७६ को लागि विनियोजित बजेटमा चालू खर्च ६२ प्रतिशत र पूँजीगत खर्चमा ४२ प्रतिशत मात्र खर्च गर्न सकेका छन् ।
नाम मात्रको सार्वजनिक सुनुवाई
ललितपुर महानगरपालिकाले यस वर्ष विभिन्न स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । सार्वजनिक सुनुवाईको कार्यक्रम एक एनजिओलाई दिएको थियो । एनजिओको प्रतिवेदनको आधारमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा कर्मचारी र जनप्रतिनिधि बाहेक स्थानीयको उपस्थिति न्युन रहेको थियो ।
कार्यान्वयनमा आउन सकेन साईकल लेन अभियान
ललितपुर महानगरपालिकाले २०७६ मसिंर १४ गते देखि पहिलो चरणको साईकल लेन बनाउने कार्यको सुरुवात निकै भब्यताका साथ गर्यो । जसको सुरुवात मेयर महर्जनले गरेका थिए । बागमती पुलदेखि कुपन्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म जोड्ने पहिलो चरणको साइकल लेन अपुरो तथा अब्याहारिक हुदाँ घोषणा अनुसार साईकल लेन कार्यान्वयनमा सफल हुन सकिरहेको छैन । साईकल लेन बनाइएको छ तर लेनमा रहेका अवरोधहरु हटन सकेका छैनन । सडकमा कोरिएका साईकल लेनका चिन्हहरु मेटिएका छन भने साईकल लेनको धेरै खण्ड मोटरसाईकल पाकिङ गर्ने ठाउँ बनेका छन । साइकल लेन बनाउने ललितपुरको सुरुवात आफैंमा सकारात्मक भए पनि यसको कार्यान्वयन र निरन्तरता चुनौतीपुर्ण छ । जसलाई पुर्ण रुपमाँ चिर्न मेयर असफल भएका छन ।
होडिङ बोर्डे हटाउन ललितपुर महानगरको अटेर
सडकमा रहेका अनावश्यक होडिङ बोर्डे हटाउन सरकारले पुष २८ गते काठमान्डौ महानगरपालिका, ललितपुर महानगरपालिका सहित विभिन्न स्थानिय निकायलाई सात दिनको समय सिमा दिएको थियो । जसका काठमान्डौ महानगरपालिकाले कार्यान्वयनमा ल्याए पनि ललीतपुर महानगरपालिकाले भने कुनै चासो देखाएको छैन । यस्तै ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले काठमाडौं उपत्यकाभित्र होडिङ बोर्ड निषेध गरेको थियो, जसभित्र ललितपुर महानगर पनि पर्छ । तर सर्वोच्च र सरकारको निर्दशनलाई अटेर गदै ललीतपुर महानगरपालिकाले प्रचलित ऐनभन्दा बाहिर गएर जथाभावी रूपमा होर्डिङ बोर्डहरू राख्न अनुमति दिएको छ । स्रोतका अनुसार ललितपुरका जनप्रतिनिधिले नै बोर्ड राखेबापत कमिशन लिने गरेका छन् । केही रकम राजस्व पनि आएको देखाउँदै ललितपुरका जनप्रतिनिधिहरूले निर्वाध रूपमा होर्डिङ बोर्डहरू राख्न दिएका छन् । काठमाडौंको थापाथलीबाट ललितपुरको कुपण्डोल टेक्नुअघि नै वाग्मती पुलबाट ठुलठूला होर्डिङ बोर्डहरू देख्न सकिन्छ । काठमाडौं र ललितपुरको सिमानामा पर्ने वागमती पुलमै समेत होर्डिङ बोर्ड ठडिएको छ । वागमती नदीको किनारमा तथा सडक नजिकैका घरमाथि विशाल आकारका होर्डिङ बोर्डहरू छन् । यस्तै बालकुमारी , सातदोवाटो, ग्वार्कु चोक र लगनखेलमा समेत ठुलठूला होर्डिङबोर्डहरु राखिएका छन, जसका कारण महानगरको स्वरुप कुरुप देखिएको छ भने अर्कातर्फ दिनहुँ दुर्घटना बढिरहेका छन ।