ललितपुर, फागुन १३। ललितपुरस्थित पुल्चोक मदन स्मारक विद्यालयको जग्गा अतिक्रमण भएको विरोधमा स्थानीयले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पुत्ला दहन गरेका छन् । ललितपुर महानगरपालिका वडा नं. ३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला दहन गरिएको हो ।
नेपाल सरकारले २६ चैत २०६९ मा राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर पुल्चोकको मदन स्मारक माविको चौरलाई ‘सार्वजनिक खुला क्षेत्र’ भनिसकेको छ। तर, त्यसको ९ महिनाअघि नै यो स्कूलको ३२ रोपनी जग्गामध्ये १३ रोपनी १ आनामा बिजनेश कम्प्लेक्स बनाउने सम्झौता भइसकेको थियो। क्लासिक डाइमण्ड र भ्याली कन्ट्रष्ट्रक्सन कम्पनीलाई विजनेश कम्प्लेक्स बनाउन दिएको थियो । त्यस्तै १ जेठ २०७६ मा सर्वोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले विद्यालयको जग्गामाथि भइरहेको अतिक्रमण रोकेर खुला क्षेत्र कायम राख्न आदेश जारी गरेको थियो। स्थानीयले महानगरविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय ललितपुरलगायतका निकायहरूमा उजुरी समेत दर्ता गरेका छन् ।