Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाँच लाखको कोरोना परीक्षण गर्ने तयारी

पाँच लाखको कोरोना परीक्षण गर्ने तयारी

दैनिकी न्यूज

१४, जेठ २०७७
पाँच लाखको कोरोना परीक्षण गर्ने तयारी
images

काठमाडौं, जेठ १४ । सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आकलनसहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भने, “पाँच लाख व्यक्तिको परीक्षण तुरुन्तै गराउने हिसाबले आवश्यक किट, स्वास्थ्य सामग्री, उपकरण मौजुदा राख्ने निर्णय गरिएको छ । ” उनले विदेशबाट आउने क्रम जारी रहने र भाइरस सङ्क्रमण अवधि लम्बिने अवस्थामा छ लाखभन्दा बढीको परीक्षण गर्नुपर्ने अवस्थासमेत आकलन गरी तयारी गरिएको बताए ।

उनका अनुसार विदेशबाट आएकालाई परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, निश्चित अवधिपछि फेरि परीक्षण गरेर पूर्णतः स्वस्थ भएपछि परिवारमा पठाउने नीति सरकारले लिएको छ ।


मन्त्री ढकालले देशभर परीक्षण बढाइएकै कारण सङ्क्रमितको सङ्ख्या बढेको चर्चा गर्दै भने, “माघ ९ गते पहिलो केस पुष्टिका लागि हङ्कङ ल्याबको प्रयोग गरिएको थियो । यद्यपि यो महामारी बीचमै हामीले अहिले २० ठाउँबाट परीक्षणको सेवा दिइरहेका छौँ । ”
उनका अनुसार अहिलेसम्म एक लाख ५२ हजारलाई परीक्षणको दायरामा ल्याइसकिएको छ । नमुना सङ्कलन बढी भएको दिनमा तीन हजार आठ सयभन्दा बढीको पीसीआर परीक्षणसमेत गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको सम्बोधनमार्फत जनसङ्ख्याको दुई प्रतिशतलाई परीक्षणको दायरामा ल्याउने बताएका थिए । सोहीअनुसार मन्त्रालयले कामलाई तीव्रता दिइएको मन्त्री ढकालले बताउनुभयो । उनले भने, “तीव्र ढङ्गले सबैतिर परीक्षण गरिरहेका छौँ । सङ्कलन गरेका नमुना ल्याबमा थुप्रिएका छन् । ”

ल्याबमा परीक्षणका लागि सङ्कलन गरिएका नमुना थुप्रिएपछि परीक्षण प्रयोगशालालाई दैनिक पाँच हजारभन्दा बढीको परीक्षण गर्नसक्ने गरी विस्तार गर्ने तयारी मन्त्रालयको छ । उनले भने, “जनसङ्ख्याको आधार, प्रभावित हुने क्षेत्रलाई समेत ध्यानमा राखेर पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिनेछ । ”

पछिल्लो दिनमा भारतमा सङ्क्रमण बढ्दै गएपछि नेपालमा त्यसले समस्या निम्त्याएको ठम्याइ मन्त्री ढकालको छ । उनले उदयपुर, वीरगन्ज, रुपन्देही, कपिलवस्तु, नेपालगन्ज, सुदूरपश्चिमलगायत स्थानमा छिमेकी मित्रराष्ट्र भारतबाट आएका नेपाली नागरिकबाट नै सङ्क्रमणको मुख्य फैलावटको आधार बनेको चर्चा गरे ।

उनले छिमेकी मित्रराष्ट्रबाट ठूलो सङ्ख्यामा लुकिछिपी प्रवेश गरेकाबाटै नेपालमा कोरोना जोखिम बढाएको बताए । उनले भने, “सङ्क्रमितको सङ्ख्या हेर्दा पनि उडेरभन्दा हिँडेर आएको भाइरस नै अलि कडा प्रकृतिको छ । यसले हामीलाई अलि बढी प्रभावित पारेको छ । ” मन्त्री ढकालले शक्तिसम्पन्न र स्वास्थ्य उपचारका क्षेत्रमा व्यवस्थित भनिएका राष्ट्रलाई समेत कोरोना महामारीले हम्मेहम्मे पारिरहेको स्थितिमा साधन र स्रोतको पहुँच कम भएको नेपालले कोरोनाविरुद्ध सङ्घर्ष गरिरहेको चर्चा गरे ।

उनले सम्पन्न र स्वास्थ्य उपचारमा व्यवस्थित भनिएका राष्ट्रका अस्पतालले बिरामीलाई घरमै आइसोलेसनमा बस्न भनिरहेको प्रसङ्ग उल्लेख गर्दै भने, “साधन र स्रोतमा पहुँच नभएको हाम्रोजस्तो मुलुकमा राज्यको कुशल व्यवस्थापनको कारणले सङ्क्रमित खोजेर उपचार गरिरहेका छौँ । ”

उनले भने, “राज्यले यहाँ छ कि रु त्यहाँ छ कि रु भनेर परीक्षण गरेर सङ्क्रमित खोजेर ल्याइरहेको छ । यो सकारात्मक पाटो हामी देख्दैनौँ । ” मन्त्री ढकालले परम्परावादी नीति छाडेर स्वास्थ्य क्षेत्रलाई नयाँ ढङ्गले अगाडि बढाउन सरकारले नीति तथा कार्यक्रममार्फत ‘एउटा प्रस्थान’ गरेको स्पष्ट पारे । उनले भने, “स्वास्थ्य क्षेत्रलाई राज्यले जिम्मा लिन्छ भन्ने अनुभूति हुने गरी कार्यक्रम अगाडि बढाउने नीति ल्याएका छौँ । ”उनले निरोगी नेपालको अवधारणाबारे चर्चा गर्दै भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा एउटा नवीन युगको आरम्भ गरेका छौँ भन्ने अनुभूति हुने गरी काम देखाउँछौँ । ” उनले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सेवासुविधा चित्तबुझ्दो नभएको समेत बताए ।

उहाँले भन्नुभयो, “स्वास्थ्यका कर्मचारीमाथि सेवा र सुविधामा ज्यादती नै भएको छ । एक जना विशेषज्ञ डाक्टरले के सेवा सुविधा पाएको छ रु” उनले ‘एक चिकित्सक एक संस्था’ नीतिलाई कार्यान्वयनमा लैजान चिकित्सकको सेवा र सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

मन्त्री ढकालले २५ वर्षदेखि स्वास्थ्य मन्त्रालयमा दरबन्दी बढाउने कामसमेत नभएको चर्चा गर्दै भने, “नेपालमा १८ हजारभन्दा बढी क्रियाशील डाक्टर छन् । तिनमा एक हजार २८७ जना डाक्टरले सरकारी स्वास्थ्य सेवा धानेका छन् । यो विम्बले पनि सरकारको स्वास्थ्य अवस्था देखाउँछ । यसलाई परिवर्तन गर्न अत्यावश्यक छ । ” उनले महामारीविरुद्धको युद्धको कमान्डरका रूपमा रहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मी को मनोबल कमजोर बनाउन नहुनेसमेत बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीको उच्च मनोबल, सुरक्षाको प्रत्याभूतिसहित काम गर्ने वातावरणका लागि सरकार दृढ रूपमा अगाडि बढेको पनि मन्त्री ढकालले स्पष्ट गरे । गोरखापत्रबाट

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - ०६:३७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology