ललितपुर, जेठ १४ । ललितपुरकको वागमती र महाँकाल गाउँपालिकामा हावाहुरीले वितण्डा मच्चाएको छ । मंगलबार दिउँसो ११ बजेदेखि परेको हावाहुरीसहितको मुसलधारे वर्षाले दर्जनौ घरका छाना उडाउनुको साथै कृषिवालीमा लाखौको क्षति गरेको वागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।
बागमती गाउँपालिकाको घुसेल, इकुडोल, माल्टा, प्युटार, आश्राङ, गिम्दी लगायतका क्षेत्र बढी प्रभावित भएको छ ।
गिम्दीको केही ठाउँका घर, टहराहरू पूर्णरुपमा क्षति भएका छन् । मकैका बोटहरू पनि पूर्णरुपमा ढलेका छन् ।
त्यस्तै महांकाल गाउँपालिका वडा ६ ठूलादुर्लुङमा लाल बहादुर रुम्बाको घर पूर्णरुपमा भत्केको स्थानीय सुमन तामाङले बताए । घरभत्केपछि रुम्बालाई छिमेकीको घरमा राखिएको छ । यसैगरी हावाहुरीले ज्वालादेवी आधारभुत विद्यालय र महेन्द्र माविको भवनको जस्ता उडाउनुको साथै त्यस वरपरका १५ वटा घरका छानो उडाएको छ।
तीव्रगतिमा आएको हावाहुरीले मकै खेती, केरा खेती, तरकारीको टनेलमा लाखौं रुपैयाँ बराबर क्षति भएको छ ।
विद्युत सेवा अवरुद्ध
यसैबीच मंगलबारको हावाहुरीका कारण दक्षिण ललितपुरको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । ठाउँ ठाउँमा विजुलीको पोल ढल्नुका साथै ३ किलोमिटरको भन्दा बढी मेन लाइनमा क्षती पुगेको दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीका अध्यक्ष गोविन्द बजगाईले जानकारी दिए । एउटा ट्रान्सफरमर ढलेका कारण फोन सम्पर्क समेत विच्छेद भएको छ ।
बुधबार बिहानदेखि बिजुलीको पोल लगायत ट्रान्सफरमर ֿमर्मतको काम गर्ने भनिएपनि वर्षा भएपछि रोकिएको बजगाईले बताए ।