काठमाडौं, जेठ १४ । बाग्लुङमा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङको तमानखोला गाउँपालिकाका ४ जना र बडिगाढ गाउँपालिकाका २ जनामा सङ्क्रमण भेटिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार सङ्क्रमण पुष्टि भएका बडिगाढ गाउँपालिकाका १९, २० वर्षका पुरुष र तमानखोलाका २१, २१, २७ र २७ वर्षका पुरुष रहेका छन् ।
सङ्क्रमित सबै भारतबाट सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए । सुनौलीबाट प्रदेश ५ को गुल्मी र बाग्लुङको सीमा खर्वाङ हुँदै जिल्ला प्रवेश गरेका सबै क्वारेन्टाइनमा बसेका थिए ।
सङ्क्रमित मध्य चार जना तमानखोला गाउँपालिकाको धनगौज्योती माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइन र दुई जना बडिगाढ गाउँपालिकाको त्रिभुवन माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका थिए ।