काठमाडौँ, जेठ १४ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय ८६ पुगेको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लाका थप ११४ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
यो संख्या अहिलेसम्मकै धेरै हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बाग्लुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २ र बाराका ७ जना रहेका छन् ।
भारतमा अड्किएर बसेका नेपाली दिनको हजारौँका दरले आउन थालेपछि कोरोना संक्रमित पनि तीव्र गतिमा बढेका हुन्।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । नेपालका ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १८३ जना निको भएका छन् । आज २८ जना डिस्चार्ज भएका छन् । बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।