काठमाडौं, जेठ १५ । बिहीबार देशभर कोरोनाबाट १ सय ५६ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १ सय ५६ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।
संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म १ सय ८७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एक/एक गरी ४ जनाको मृत्यु भइसकेको छ ।