Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पहिलो पटक रित्तियो प्रहरीको ललितपुर हिरासत कक्ष

पहिलो पटक रित्तियो प्रहरीको ललितपुर हिरासत कक्ष

रामहरि कार्की

२७, जेठ २०७७
पहिलो पटक रित्तियो प्रहरीको ललितपुर हिरासत कक्ष
images

ललितपुर । प्रहरीको ललितपुर हिरासत कक्ष ६५ वर्षपछि पहिलो पटक खाली भएको छ । २०१२ साल बैशाख १ गते जिल्ला प्रहरी कार्यालयसँगै स्थापना भएको हिरासत कक्ष पहिलोपटक जेठको अन्तिम हप्तादेखि खाली भएको हो ।

सुरुमा सो कार्यालयको नेतृत्व डिएसपी देबेन्द्रमान सिंहले गरेका थिए । त्यसयता कहिले यसरी हिरासत खाली नभएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । ललितपुरमा १५० जनासम्म थुनुवा राख्ने क्षमता छ।

‘हामीलाई अहिलेसम्म यसरी थुनुवा कक्ष खाली भएको थाहा थिएन,’ उनले भने। कोरोनाको संक्रमण हुन थालेपछि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ । कोरोनाले हिरासतमा रहेकालाई संक्रमण गर्ने भयले सरकारले लकडाउनकै अवधिमा गम्भीर अपराधमा संलग्न रहेका बाहेक सामान्य अपराध गरेकालाई हिरासतमा नराख्न निर्देशन दिएको छ ।

हिरासतमा आपराधिक गतिविधिमा संलग्नहरु थिए । उनीहरुलाई प्रक्रिया पुर्‍याएर छाडिएको राईले जानकारी दिए । अहिले पनि आपराधिक गतिविधिमा सक्रिय रहेकाहरुलाई दैनिक प्रक्राउ गर्ने पनि हिरासतमा भने नराखेको उनले बताए ।

सर्वोच्च अदालतले अहिले गम्भीर प्रकृतिका र पक्राउ गरी थुनामा नराखी नहुनेबाहेक अन्य घटनामा पक्राउ नगर्न आदेश दिएपछि प्रहरीले हिरासतमा त्यस्ता मानिसलाई राखेको छैन ।

धरौटी, हाजिरी जमानीमा छोड्न मिल्ने थुनवालाई पनि आवश्यक प्रकृया मिलाएर छोडिएको एसएसपी राईले बताए । ‘लकडाउनका कारण गम्भीर प्रकृतिका अपराधमा कमी आएको छ’, राईले दैनिकीन्युजसँग भने, ‘थुनुमै रहेकालाई पनि प्रकृया मिलाएर छोड्दा परिसरको थुनुवा कक्ष खाली भयो ।’

परिसरको हिरासतमा केही दिन नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वकी नेता उमा भुजेललाई राखिएको थियो । भुजेलको थप फाइल काठमाडौंमा भएकोले उता पठाएपछि आइतबारदेखि थुनुवा कक्ष खाली भएको हो। एसएसपी राईका अनुसार परिसरमा लकडाउन अघि औसत ४०/४५ जना थुनुवा हुन्थे। ‘अहिले हामीकहाँ अपराध शून्य भएको छ, मुद्दा र अन्य शाखाका प्रहरी कर्मचारीलाई लकडाउन केन्द्रित कार्यमा लगाएका छौं’, उनले भने।

अहिले थुनुवा कक्ष खाली भएपछि मर्मत सम्भारको काम भइरहेको छ। त्यस्तै कोरोना संक्रमणबाट बच्नको लागि डिस्इन्फेक्सन् कार्य समेत भइरहेको छ।

ललितपुर जिल्लामा २ वटा प्रहरी वृत्त छ र २ वटामा नै हिरासत कक्ष छ । केही प्रभागमा पनि हिरासत कक्ष छन् । महानरीय प्रहरी वृत्त चापागाउँको हिरासत कक्ष पनि खाली छ ।

ललितपुर परिसरका डिएसपी सन्तोष तामाङमा अनुसार हिजोआज छिमेकीले चर्को गीत बजाएको, मान्छेहरु एकैठाउँमा भेला भएको, तराईबाट मानिस आएको, राती राती गाडी कुदेको र होहल्ला गरेको भनेर फोन आउँछ।

‘पहिलेपहिले अति नै नराम्रा खबर आउने, प्रहरीलाई कुदाकुद हुन्थ्यो, लकडाउनका बेला ललितपुर शान्त भएको छ, यसलाई सबै मिलेर कायमै राख्नुपर्छ,’ उनले भने।

ललितपुरमा ५२ वटा प्रहरी युनिट, १३ सय २२ को दरबन्दी स्विकृत भएपनि हाल ११ सय ११ प्रहरीले सेवा दिईरहेको राईले बताए ।

५२ वटै प्रहरी युनिटमा पुगे एसएसपी राई
एसएसपी राईले ललितपुरका सबै युनिटको भ्रमण गरेका छन् । प्रहरीको मनोबल बढाउन र सरकारको आदेश कार्यान्वयन भएको छ कि छैन भनेर सबै प्रहरी युनिटमा पुगेको उनले बताए ।

‘लकडाउनको समयमा प्रहरीले कसरी जनताको सेवा दिइरहेका छन् भनेर अवलोकन गर्न सबै युनिटमा पुगेँ’, उनले भने । कार्यक्षेत्रमा खटिएका प्रहरीलाई मास्क, सेनिटाइजर, पञ्जा, खानेकुरासमेत वितरण गरेको उनले बताए । वृत्तमा २५/२५ थान, प्रभागमा ५ थान र चौकीमा आवश्यकता अनुसार २/३ थान पिपिई समेत दिएको उनले बताए । हाल ललितपुर परीसरमा ७ सय भन्दा बढी पीपीई स्टकको रुपमा रहेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - २२:०९:३१ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology