ललितपुर । लकडाउन शुरु भएयता ललितपुरका १७ जनाले आत्महत्या गरेका छन् । नेपाल सरकारले गत चैत्र ११ गतेदेखि जारी गरेको लकडाउनको बिहीबार ८० औँ दिन पुग्दा जिल्लाका १७ जनाले आत्महत्या गरेका हुन् । जसमा १२ जना पुरुष र ५ जना महिला रहेका छन् ।
महानगरीय प्रहरी परीसर ललितपुरको तथ्याकं अनुसार आत्महत्या गर्नेमा १७ बर्षदेखि ८१ बर्ष उमेरसम्मका रहेका छन् । परीसर ललितपुरका प्रवक्ता एसपी तुल बहादुर कार्कीका अनुसार आत्महत्या गर्नेहरुमा साधारण लेखपढ गर्नेदेखि इन्जिरियरसम्म रहेका छन् ।
कार्कीका अनुसार ललितपुर महानगरपालिकाका १० जना, महालक्ष्मी नगरापलिकाका १ जना, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र गोदावरी नगरपालिकाका २/२ जनाले आत्महत्या गरेका छन् । आत्माहत्या गरेका मध्ये १५ जना झुन्डिएर र २ जनाले विष सेवन गरी आत्महत्या गरेको पाइएको छ ।
लकडाउनकै समयमा आत्महत्या बढ्नुमा आर्थिक कारण मुख्य रहेको अनुसन्धानमा सक्रिय प्रहरीले जनाएको छ । तीन महिनादेखि जारी लडडाउनको कारण उद्योग, कलकारखाना लगायतका आर्थिक कारोबार ठप्प हुँदा मानसिक तनाब बढेको र त्यसले आत्महत्या गर्न प्रेरित गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले बताए ।
यसलाई रोक्नको लागि आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण रहेको समेत मनोचिकित्सकहरुको भनाइ छ ।
नेपालमा आत्महत्याको घटनालाई न्यूनिकरणको लागि सामान्यतया आत्महत्याको लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित मनोवैज्ञानिक परामर्श दिनुपर्ने, लकडाउनको शैलीलाई परिर्वतन गरी आवश्यक सुरक्षा अपनाएर हिडडुल गर्न दिनुपर्ने लगायतका उपाय समेत सुझाएका छन ।
यो पनि पढ्नुहोस्
ललितपुरमा आत्महत्या गर्ने संख्या बढ्यो, बालबालिका समेत शिकार