Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कति छन् ललितपुरका ६ स्थानीय तहमा एम्बुलेन्स ?

कति छन् ललितपुरका ६ स्थानीय तहमा एम्बुलेन्स ?

राजु नेपाल

३०, जेठ २०७७
कति छन् ललितपुरका ६ स्थानीय तहमा एम्बुलेन्स ?
images

 

ललितपुर । दक्षिण ललितपुरमा अवस्थित बागमती गाउँपालिकाले स्थानीय तह गठन भएको ३ वर्षमा भर्खरै एउटा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकामा हुने बिरामीको स्वास्थ्यमा ख्याल गर्दै गतमंगलबारे मात्र एम्बुलेन्स भित्राएको हो ।

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिनुपूर्व बागमतीसँग कुनै पनि एम्बुलेन्स थिएन् । एम्बुलेन्स खरिदका लागि गत वर्षनै आफू लागि परेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, ‘हामीले ७/८ महिना अघिदेखि गाउँपालिकामा एम्बुलेन्स ल्याउन प्रयास गरेका थियौं । भर्खरै आएर सफल भएका छौं ।’ चालु आर्थिक वर्षको रकम मार्फत लगभग १२ लाख खर्च गरेर एम्बुलेन्स खरिद गरेको लोप्चनले जानकारी दिए ।

सो एम्बुलेन्स महेन्द्रा कम्पनीको बुलेरो नामक रहेको छ । मुलुकमा कोरोनाको त्रास बढेसँगै वागमतीले एक अस्पताल र जीवन विकास केन्द्र नामक संस्थासँग समन्वय गरी आवश्यक परेका खण्डामा दुई वटा एम्बुलेन्स व्यवस्था गराउने सहमति पनि गरेको लोप्चनको भनाई छ ।

करिब ६ हजार जनसङ्ख्या मात्र रहेको गाउँपालिकामा आफू बिरामी पर्दा जीप बोलाएर ८ देखि १० हजार तिरेर उपचारका लागि अस्पताल लानुपर्ने बाध्यताको अब अन्त्य भएको प्रेस संयोजक दीपक घिमिरे समिरले बताए । एम्बुलेन्सको केही पार्टेशनको काम बाँकी रहेको र २/३ दिनभित्र सेवा सुचारु हुने समिरको दाबी छ ।

bagmati ambulance.jpg

कोञ्ज्योसोम गाउँपालिकाले गत वर्ष १४ लाख तिरेर एउटा एम्बुलेन्स खरीद गरेको थियो । सोही एम्बुलेन्स हाल गाउँवासीको स्वास्थ्यमा ख्याल गर्दै आवश्यक परेमा सञ्चालका लागि खडा गराइ राखेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले बताए । उनले भने, “हाम्रो गाउँपालिकामा हाल लगभग १० हजार जनसङ्ख्या रहेको छ । गाउँवासीलाई पर्ने समस्या समाधान गर्न एउटा एम्बुलेन्स भएपनि पुगिनै रहेको छ ।” कोञ्ज्योसोमबाट चापागाउँ अस्पताल आउन थोरैमा पनि १५ किलोमिटर पार गर्नुपर्ने सिङ्तानकोे भनाई छ ।

महाङ्काल गाउँपालिकामा ५ महिना अघि एउटा एम्बुलेन्स भित्रिएको थियो । नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाको सहयोगमा उक्त एम्बुलेन्स भित्राएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए । उनले भने, “हामीसँग एउटा एम्बुलेन्स भएसँगै बिरामीका आफन्तले ६५ किलोमिटर पार गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि सवारी भाडा तिरेर आउनुपर्ने समस्याको अन्त्य भएको छ ।”

यसैगरी महालक्ष्मी नगरपालिकामा हाल ४ वटा सामुदायिक स्तरका एम्बुलेन्स सञ्चालन भइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्दप्रसाद श्रेष्ठले बताए । उनले भने, “यहाँको वडा नं ६ सिद्धिपुरमा रहेका शान्ति विकास केन्द्र तथा सत्य युवा समुह नामक दुई वटा संस्था र वडा नं ७ मा रहेको चागाथली क्लबले चाहेका बखत नगरवासीलाई बिना शुल्क एम्बुलेन्स सुविधा दिइरहनुभएको छ ।” नगरपालिकाले एम्बुलेन्स चालककालाई स्वास्थ्य सुरक्षाका सामग्रीको साथै इन्धनको समेत व्यवस्था गरिदिएको श्रेष्ठले जानकारी दिए ।

गोदावरी नगरपालिकाले हाल ६ वटा स्थानबाट एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । ठेचो, गोदावरी, लेले, बज्रावाराही, आनन्दवन अस्पताल र डुकुछाप गरी यी स्थानबाट गोदावरीले एम्बुलेन्स सेवा दिइरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, 'नगरवासी कोहीकसैलाई कोरोनाको सङ्क्रमण भई बन्दाबन्दी अवधिभर अस्पताल लानुपरेमा हामीले यी एम्बुलेन्सलाई एक सय लिटर इन्धन उपलब्ध गराउने निर्णय गरेका छौँ।'

ललितपुर महानगरपालिकासँग हाल २ वटा एम्बुलेन्स सञ्चालनमा रहेको नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

ललितपुर जिल्लामा ५० देखि ५२ वटा एम्बुलेन्स दर्ता भएका छन् । यी मध्ये कूल ३८ वटा एम्बुलेन्स हाल सञ्चालनमा रहेका जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

 

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १२:२१:४३ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology