काठमाडौं । आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ ।
आज नेपालभर साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति पर्व मनाइँदै छ। सौरमानअनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले आजको दिनलाई कर्कटसङ्क्रान्ति पनि भनिएको हो।
कृषिप्रधान देश नेपालमा असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले आज हिलोमैलो पखाली आफ्ना इष्टमित्रका साथ रमाइलो गरी भोज खाने प्रचलन छ। असारे हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ।
आज विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिको रूपमा प्रयोगहुने वनस्पतिसमेत बाली आ–आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।
लुतो फाल्दा घरभित्र दूषित कीटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वासअनुरूप खेतबारीको काम पनि गरिंदैन।
के हो लुतो फाल्ने भनेको ?
परम्परागत रूपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै, कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ(आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।