काठमाडौं । झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ ।
पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला सोमबार सचिवालय बैठक बसिरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा १० बजे देेेखि बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । सचिवालय बैठकले कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यादेश पनि दिनेछ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच गत साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।
यसअघि गत साउन ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मङ्सिरमा पार्टीको 'अर्ली महाधिवेशन' गर्न प्रस्ताव गरेका थिए तर त्यसमा सहमति नभए पछि नेकपाको विवाद थप चर्केको थियो ।
नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो ।