काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आज (भदौ ४ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। सर्वसाधारणले रिलायन्सको आईपीओमा छिटोमा भदौ ४ गतेदेखि ८ गतेसम्म आवेदन दिन सक्नेछन्। छिटो अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिने इन्स्योरेन्सले जनाएको छ।
इन्स्योरेन्सले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्ने इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ।