काठमाडौं । सरकारले लामो दूरीका सवारी साधन र हवाई सेवा भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै भदौ मसान्तसम्म यातायात नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले लामो यातायात र हवाई सेवा भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो। साउन २६ गते बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेकोमा आज बसेको बैठकले नयाँ निर्णय गरेको हो ।
कोरोना संक्रमण फैलिने क्रम नियन्त्रणमा नआउँदा लामो दूरीका यातायात र उडान सञ्चालन मिति सरकारले बारम्बार पछि सार्दै लगेको छ।
भदौ १ गतेदेखि लामो दूरीका र हवाई यातायात चल्न दिने निर्णय गरिएको थियो। तर संक्रमण बढ्दै जाँदा त्यसलाई पछि सार्दै लगिएको हो।
पछिल्लो समय सरकारले उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लागू गरेको छ।
यस्तै मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङ र मकाउ तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।रानामगरलाई हङकङ र मकाउ तथा ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।
महावाणिज्यदूत नियुक्त गर्ने प्रक्रिया अन्तर्गत दुवै सहसचिवलाई गत मंगलबार परराष्ट्र मन्त्रालय सरुवा गरिएको थियो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।