Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान आजबाट

अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान आजबाट

दैनिकी न्यूज

१६, भाद्र २०७७
अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान आजबाट
images

काठमाडौं । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल मंगलबार (आज)देखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी भदौ मसान्तसम्म रोक्ने निर्णय गरेको सरकारले अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडानसँगै चार्टर उद्धार उडानलाई पनि निरन्तरता दिनेछ ।

सरकारले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । नयाँ उडान तालिकाअनुसार मंगलबारदेखि आगामी १४ असोजसम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उद्धार उडान हुनेछन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबारबाट सुरु हुने अन्तर्राष्ट्रिय नियमित तथा चार्टर उडानको तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । सोही तयारीअनुरूप अन्तर्राष्ट्रिय नियमित व्यावसायिक र चार्टर उद्धार उडान सञ्चालन हुन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले मंगलबारको नियमित व्यावसायिक उडानका लागि विभिन्न पाँच वटा वायुसेवाको उडान तालिका तय भइसकेको बताए । प्रवक्ता क्षत्रीका अनुसार दुइटा नेपाल वायुसेवा निगमको काठमाडांैबाट दोहा र कुवेत, हिमालय एयरलाइन्सको दोहा र चीन उडान हुनेछ ।

यसैगरी, एयर अरेबियाको विमान सार्जाबाट काठमाडांै आएर यात्रु लिएर फर्किनेछ । यी उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

पर्यटन मन्त्रालयले आगामी एक महिनासम्मका लागि तय गरेको नयाँ उडान तालिकाअनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतारलाई अन्तर्राष्ट्रिय नियमित व्यावसायिक हवाई उडानले पुनः नेपालसँग जोडिदिनेछ ।

सरकारले मंगलबार पछि पनि स्वदेशी वायुसेवा कम्पनीबाट भइरहेका चार्टर उद्धार उडानलाई पनि जारी राख्ने निर्णय गरेको छ ।

सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेहरूलाई मध्यनजर गरी केही मुलुकमा भने चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने भएको छ । सरकारले पहिलो चरणमा पिसिआर परीक्षण सम्भव हुने मुलुकमा मात्र नियमित व्यावसायिक उडानको अनुमति दिएको हो । चार्टर उडानमा बढी भाडा तिर्नुपर्ने भन्दै चौतर्फी विरोध भएपछि अहिले सरकार यस्ता मुलुकमा नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुलाउन बाध्य भएको हो ।

सरकारले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानको भाडादर महँगो हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अनुगमन समिति पनि गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैतदेखि बन्द भएको नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै यस्तो उडानको भाडादर नियमन गरी महँगो हुन नदिने उद्देश्यले अनुगमन समिति गठन गरेको हो ।

राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०६:०२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology