काठमाडौं । विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यू भएको छ ।
पाल्पा, रम्भा गाउँपालिका–५ आर्यभञ्याङस्थित सडकमा ना ३ च ८८०८ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भुपाल सिंह रानाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यान, दार्मा गाउँपालिका–२ छरीखोलास्थित सडकमा रा १ त २५०१ नम्बरको ट्रयाक्टरबाट झर्ने क्रममा लड्न जाँदा सोही गाउँपालिका सिमलपुर बस्ने ४९ वर्षीय भद्रे खत्रीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रलीमा सवार खत्री एक्कासी बेहोस भएर लडेको बताइएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका–५ तारखाना पुलस्थित सडकमा स १० प ५४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा चालक सुरुङगा नगरपालिका–७ बस्ने २३ वर्षीय गाया प्रसाद चौधरीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बर्दिया, बारबर्दिया नगरपालिका–७ रम्मापुर बस्ने तुलराम थारुकी छोरी ५ वर्षीया स्मारीका थारुको ट्रयाक्टरको ट्रलीबाट खसेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँमा पार्किङ गरी राखेको ट्रयाक्टरको ट्रलीमा खल्ने क्रममा एक्कासी ढाला खुल्न गई स्मारीका भुईमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।