काठमाडौं । सरकारले बिहीबारदेखि तरकारी र खाद्यका पसल साँझ पनि खोल्न पाइने निर्णय गर्दै लुगा र जुत्ता पसल खोल्ने समय समेत तोकिदिएको छ । लामो समयको लकडाउन र निषेधाज्ञाले आक्रान्त भएका नेपालीहरु स्वतःस्फुर्त रुपमा विरोधमा उत्रिने चेतावनी दिएपछि जिल्ला प्रशासन कार्यालयहरुले नयाँ निर्णय गरेका हुन् ।
भोलिदेखि (२५) भदौदेखि लुगा र जुत्ता पसल सोमबार, बुधबार र शनिबार खोल्न पानेछ भने भाँडा र भान्साका सामाग्रीको पसल आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइने निर्णय गरेको छ ।
उपत्यकामा बिहीबारदेखि निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने छ । सार्वजनिक सवारीमा १६ सिटभन्दा बढी क्षमता भएकाले थोरै यात्रु राखेर मात्र चलाउन पाइनेछ। यसैगरी ट्याक्सीको हकमा चालकसहित ३ जनासम्म चलाउन पाइने उपत्यकाका तीनै वटा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । आदेशअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुन बार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।
फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ ।