Logo

आइतवार, श्रावण २४ गते २०८३

images

‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’ : ज्योतिषी

‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’ : ज्योतिषी

दैनिकी न्यूज

२९, भाद्र २०७७
‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’ : ज्योतिषी
images

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो । भदौ २९ गते सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ । ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ ।

भदौ २९ गते सोमबार दिउँसो १ः२४ सम्म तिष्य नक्षत्र छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको साइत त्यसअघि नै पर्ने तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनु पर्नेमा भदौ २१ गते आइतबार चतुर्थी तिथिका दिनको साइत रथ तान्नका लागि भनी दिइनु पनि गलत भएको उनले बताए। भदौ २१ गते आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार रिक्ता समूहमा पर्ने चौँथी तिथि परेको थियो । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले बेध गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीको भनाइ छ ।

ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहतसंहिता लगायत ग्रन्थमा उल्लेख भएपनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउँछन् । रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभए पनि सामान्य रुपमा साइत दिनु नहुने समयकै साइत भदौ २१ गते आइतबार दिइएको पाइएको उनले जानकारी दिए । तिथिको हिसाबले भदौ २० गते शनिबार वा भदौ २२ गते सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउँछन् । भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि गलत भएको ज्योतिष शास्त्रीहरुको भनाइपछि भदौ २९ गते सोमबारको साइत दिइएको छ ।

‘सीमित समयको उत्तम साइत’

किन आइतबारकै साइत रथ तान्न, भदौ २६ र २९ गतेको साइत मच्छिन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले भदौ २२ गतेदेखि असोज १ गतेभित्र रातो मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत दिनु पर्ने भएकाले भदौ २९ गतेको साइत दिइएको बताए । ज्योतिष शास्त्रको ग्रन्थ मुहूर्त चिन्तामणि अनुसार सबैभन्दा उपयुक्त साइत दिएको पनि उनले बताए । भदौ २६ गते साइत दिएको भए आफैँले बिरोध गर्ने ज्योतिषी पूर्णमङ्गलको भनाइ थियो ।

पाटनका चार टोलका चार खलकमध्येको प्रतिनिधित्व हुने गरी रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित साइत निकाल्ने गरिएकामा विगत ५० वर्ष अघिदेखि भने न्यउत र बखुम्बहाल टोलको प्रतिनिधित्व हुन सकेको छैन । हाल डौबहालबाट पूर्णमङ्गल र नागबहालबाट कीर्तिकिरण जोशी दुई जना मात्र साइत निकाल्न सहभागी हुने गरेका छन् ।

असोज २ गतेदेखि अधिकमास लाग्ने भएकाले सीमित समयभित्रबाट राम्रो साइत निकाल्नु पर्दा भदौ २९ गतेको साइत निस्किएको ज्योतिषी कीर्तिकिरण बताउँछन् । सोमबार बिहान १०ः५ देखि १०ः२० भित्रमा रातो मच्छिन्द्रनाथालाई बुङ्मतीतिर लैजाने साइत दिइएको उनले बताए। प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटो जात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगित गरिँदै आएको थियो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाकाबीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो ।

रातो मच्छिन्द्रनाथको रथ तान्न र बुङ्मती भित्र्याउने साइत दिने फरक नियम छ भने त्यो सार्वजनिक गर्नसमेत ज्योतिष शास्त्रीले माग गरेका छन् । साइत निकाल्न सहभागी हुने गर्नुभएका दुवै ज्योतिषीले दिएको जानकारी अनुसार पुर्खाले बनाइदिएको निश्चित सूत्रलाई आधार मानी ज्योतिष शास्त्रको सिद्धान्त अनुसार नै साइत दिइने गरेको छ ।रासस

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०८:०१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology