काठमाडौं । पछिल्लो समयमा सेयर बजारप्रति थुप्रैको आकर्षण रहेको छ । सेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरू धमाधम देखा परिरहेका छन् । खासगरी प्राथमिक सेयर बजारमा धेरैको आकर्षण रहेको देखिन्छ । प्राथमिक सेयर खरिदमा आवेदन दिनेहरूको संख्यामा धमाधम वृद्धि भइरहेको छ ।
कुनै पनि कम्पनीको आईपीओ जारी हुँदा सेयर खरिदका लागि आवेदन दिनेहरूको घुइँचो नै लाग्ने गरेको छ । प्राथमिक सेयर खरिदमा ६ लाखभन्दा बढीको संख्यामा आवेदन पर्ने गरेको छ । पछिल्लो समयमा अनलाइनमा मेरो सेयरबाट घर, पसल, अफिसबाट समेत आवेदन दिन सकिने र सी आश्बामार्फत बैंकमा गएर आवेदन दिन पाउने भएपछि यसको संख्या ह्वात्तै बढेको हो भन्दा पनि फरक नपर्ला । त्यसैगरी सेबोनले प्राथमिक सेयरमा आवेदन दिनेहरूलाई १० कित्ता सेयर दिनुपर्ने र आवेदन दिँदा न्यूनतम १० कित्ताका लागि मात्र पनि आवेदन दिन सक्ने नियम गरेपछि सेयर खरिद आवेदन दिनेहरू झनै बढेको देखिन्छ । तर पनि प्राथमिक सेयरमा आवेदन दिने सबैले न्यूनतम १० कित्ता सेयर पाउने भन्ने भ्रम पनि देखा परेको देखिन्छ ।
आवेदन दिने सबैले १० कित्ता सेयर पाउने भने होइन, माग गरेभन्दा धेरैको आवेदन प(यो भने सबैले सेयर पाउँदैनन् । त्यसबेला गोलाप्रथाबाट बाँटफाँट गरिन्छ । १० कित्ते नियमले धितोपत्रको बजारमा बोरा प्रवृत्ति कम हुनेछ भनेर धितोपत्र बोर्डले भने पनि बोरा प्रवृत्तिको सट्टा परिवार प्रवृत्ति बढेको जस्तो देखिन्छ । आवेदन दिएका सबैले १० कित्ता सेयर पाउँछन् भनेर परिवारका सबै सदस्यको नाममा आवेदन दिने प्रवृत्ति बढेको जस्तो देखिएको छ । त्यसो त परिवारका सबै सदस्यले आवेदन दिन नपाउने, दिन नहुने भन्ने पनि होइन । तर पनि अरूको, साथीभाइ, इष्टमित्र, आफन्तको नाम र बैंक खाता प्रयोेग गरेर आईपीओको आवेदन दिनेहरूलाई निरुत्साहित भने गर्नुपर्ने देखिन्छ । विगतमा वाणिज्य बैंकहरूको ८०–९० लाख कित्ता प्राथमिक सेयर निष्कासन हुँदा पनि यति धेरै आवेदन परेको हुँदैनथ्यो । तर, पछिल्लो समयमा घाटामा रहेका हाइड्रोपावर कम्पनीहरूको आईपीओमा पनि डेढ लाखभन्दा पनि बढी आवेदन पर्ने गरेका छन् ।
विगतमा कुनै पनि कम्पनीको आईपीओ र एफपीओ जारी हुँदा आवेदन दिन आवेदन संकलन केन्द्रहरूमा लगानीकर्ताहरूको भीड नै देखिने गथ्र्यो । अहिले विगतमा जस्तो प्राथमिक सेयर खरिद गर्न आवेदन संकलन केन्द्रहरूमा चेक र नगद बोकेर घण्टौं लाइनमा बसेर आवेदन बुझाउनुपर्ने झन्झटबाट भने मुक्त भएका छन् । अहिले सी आस्बा प्रणालीको स्वीकृति पाएका बैंक तथा वित्त कम्पनीहरूको देशभरका शाखा कार्यालयहरूबाट सी आस्बामार्फत सेयर खरिद आवेदन दिन सकिन्छ भने अनलाइनबाट मेरो सेयरबाट पनि आईपीओको आवेदन दिन सकिन्छ । सायद यही कारणले पनि प्राथमिक सेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको हो कि, पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिन सजिलो र समयको पनि बचत हुने गरेको छ । त्यसैगरी १० कित्ते नियमले गर्दा पनि अहिले न्यूनतम रु। १ हजारको मात्रै आवेदन दिए पनि पुग्ने भएकाले साना लगानीकर्ताहरू बढी आकर्षित भएको देखिन्छ । यसले गर्दा पनि प्राथमिक बजारमा लगानीकर्ताहरूको आकर्षण बढेको देखिन्छ । त्यसो त पछिल्लो समयमा आईपीओ भर्नेहरूमा पुराना लगानीकर्ताहरूभन्दा नयाँ लगानीकर्ताहरू बढी देखिन थालेका छन् । आईपीओमा नयाँ लगानीकर्ताहरूको बढ्दो आकर्षणले गर्दा माग गरेभन्दा सयौं गुणाभन्दा बढी आवेदन पर्ने गरेको छ । पछिल्लो समयमा जारी भएको समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग गरेभन्दा १ सय ४८ गुणाभन्दा बढी आवेदन परेको सरोकारवालाहरू बताउँछन् ।
धितोपत्र बजारप्रति सबै वर्ग, तह र पेसाका व्यक्तिहरूको यसप्रति आकर्षण रहेको पाइन्छ । सेयर बजारको सेयरका बारेमा फुटपाथ पसलेदेखि कर्पोरेट कार्यालयहरूसम्मले पनि चासो राखेको देखिन्छ । त्यसो त सेयर बजारप्रति धेरैले चासो राख्न धेरैको आकर्षण हुनु सेयर बजारका लागि सकारात्मक हो । सेयर बजारमा प्राथमिक बजारप्रति लगानीकर्ताहरूको आकर्षणले गर्दा माग गरेभन्दा कैयांै गुणा आवेदन पर्ने गरेको छ । विगतमा माग गरेभन्दा कति गुणा बढीले आवेदन प¥यो भनेर चासो राख्ने गरिन्थ्यो भने अहिले १० कित्ते नियमले गर्दा कति–कतिवटा आवेदन प¥यो भनेर चासो राख्ने गरेका छन् । त्यसो त आईपीओमा लगानी गर्नेहरू पुराना लगानीकर्ताहरूभन्दा नयाँ लगानीकर्ताहरूको बढी रहेको पाइन्छ । हुनलाई त प्राथमिक बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरूका लागि आईपीओमा लगानी गर्नु राम्रो हो । प्राथमिक सेयरमा लगानी गर्दा जोखिम कम हुन्छ भने लामो अवधिका लागि लगानी गर्ने लगानीकर्ताहरूका लागि प्राथमिक बजारमा लगानी गर्नु राम्रो हो ।
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई दुई समूहमा विभाजन गर्न सकिन्छ । पहिलो समूहमा प्राथमिक बजारका लगानीकर्ताहरू र दोस्रोमा दोस्रो बजारका लगानीकर्ताहरू । प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरू भनेको आईपीओमा लगानी गर्ने लगानीकर्ताहरू । यिनीहरू अलि लामो अवधिका लगानीकर्ताहरू हुन् । प्राथमिक बजारमा आईपीओमा लगानी गर्ने लगानीकर्ताहरू पछि आवश्यक परेको समयमा र केही नाफा भएपछि बिक्री गर्छन् । यस्ता लगानीकर्ताहरू सेयर बजारमा थुप्रै छन् । यिनीहरू धेरैजसो प्राथमिक बजारमा मात्रै सीमित भइरहेका छन् भन्दा पनि फरक नहोला । प्राथमिक बजारका धेरैजसो लगानीकर्ताहरू दोस्रो बजारमा प्रवेश गरेको त्यति देखिँदैन । अबको समयमा प्राथमिक बजारका लगानीकर्ताहरू पनि दोस्रो बजारमा प्रवेश गर्नुपर्ने देखिन्छ । सेयर बजार चल्ने भनेको दोस्रो बजारले हो । त्यसो त प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोस्रो बजारमा जोखिम बढी हुन्छ । प्राथमिक बजारका लगानीकर्ताहरू लामो अवधिका हुने भएकाले त्यति घाटा बेहोर्नु पर्दैन भने दोस्रो बजारमा भने कहिले घाटा हुन्छ त कहिले नाफा । प्राथमिक बजारका लगानीकर्ताहरू धेरैजसो साना लगानीकर्ता नै हुन्छन् । प्राथमिक बजारमा लगानी गर्दा जोखिम पनि त्यति नहुने भएकाले धेरैजसो साना र नयाँ लगानीकर्ताहरूको आकर्षण भएका कारण पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरू ह्वात्तै बढेको हो भन्दा पनि फरक नहोला ।
कारोबार दैनिकमा नरेन्द्रमान श्रेष्ठले लेखेका छन् ।