काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक आज भने बालुवाटारमा बसेको हो ।
सोमबारका लागि तय भएको बैठक आजको लागि सारिएको थियो ।
बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेछ । यस्तै संबैधनिक आयोगको पदाधिकारी नियुक्तिको विषयमा पनि क्राइटएरिया तय गर्ने एक सचिवालय सदस्यले जानकारी दिए । मन्त्रिमण्डल पुनर्गठनको विषयमा तीनवटा विधि प्रस्ताव भएका छन् । प्रधानमन्त्रीबाहेक सबैलाई राजीनामा गराएर सबै नयाँलाई मन्त्री बनाउने, राम्रो काम गरेकाहेलाई राखेर बाँकीलाई हटाउने र आंशिकरुपमा मात्रै मन्त्री परिवर्तन गर्ने विषयमा छलफल भएपनि टुंगो लागेको छैन । पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने माग उठेको छ । गौतम र श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने पक्षमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा उभिएका छन् । आजको बैठकमा यही विषयमा निर्णय गर्ने जिम्मा २ अध्यक्षलाई दिने संभावना रहेको एक सचिवालय सदस्यले बताए ।
आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे मापदण्ड बनाएर नाम छान्ने जिम्मा अध्यक्षद्वयलाई दिनेछ, संबैधानिक आयोग पदाधिकारी नियुक्तिबारे पनि एउटा क्रमइटएरिया बनाउनेछ, ती सचिवालय सदस्यले भने ।