Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१५ लाख फिरौती नदिँदा इटा भट्टामा बम बिस्फोट गराउने फरार प्रतिवादी महतो पक्राउ

१५ लाख फिरौती नदिँदा इटा भट्टामा बम बिस्फोट गराउने फरार प्रतिवादी महतो पक्राउ

दैनिकी न्यूज

७, आश्विन २०७७
१५ लाख फिरौती नदिँदा इटा भट्टामा बम बिस्फोट गराउने फरार प्रतिवादी महतो पक्राउ
images

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार व्यक्तिलाई पक्राउ गरेको छ। मंगलबार राति बारा परवानीपुर गाउँपालिका १ का ३६ वर्षीय कपिलदेव महतोलाई प्रहरीले पक्राउ गरेको हो।

महतो गतवर्षदेखि भारततर्फ फरार भएका थिए। केही दिनअघि उनी नेपाल प्रवेश गरी पुनः आपराधिक गतिविधिमा संलग्न हुन लागेको सूचनापछि प्रहरीले मंगलबार राति उनको घर घेराउ गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय प्रसौनी र परवानीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। महतोलाई आवश्यक कारबाहीको लागि बारा जिल्ला अदालतमा पठाउने तयारी भइरहेको छ।

उनीसहितका व्यक्तिले परवानीपुर गाँउपालिका ४ मा रहेको इट्टा उद्योगका संचालकलाई १५ लाख रुपैयाँ फिरौती माग्दै आएका थिए।

स्थानीय ३१ वर्षीय प्रमोद साह गोढको समूहले २०७६ कात्तिक ४ गते १५ लाख रुपैयाँ माग्दै नदिए इटा उद्योगमा बम बिस्फोट गराउने धम्की दिएका थिए।

फिरौती रकम दिन अस्वीकार गरेपछि उनीहरुले इटा उद्योगमा बम बिस्फोट गराउँदै मागेजति रकम नदिए घर परिवारलाई समेत खतरा हुने चेतावनी दिएका थिए।

पटक–पटक फोन तथा एसएमएसबाट धम्की दिएपछि ३ लाख रुपैयाँ लिएर चैनपुर भन्ने स्थानमा बोलाएका थिए। उक्त जानकारी प्रहरीले पाएपछि त्यसैदिन अन्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो।

फिरौती रकम लिन आएका ३१ वर्षीय प्रमोद साह, २० वर्षीय देव शंकर राम, २० वर्षीय अच्छेलाल गोसाई र ३९ वर्षीय दिपेन्द्र कुमार धानुक पक्राउ परेका थिए।

उनीहरुलाई आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी प्रहरीले अदालतमा बुझाएको थियो। अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय बीरगन्जमा पठाएको छ। भाग्दै आएको महतो भने एक वर्षपछि पक्राउ परेका हुन्।

images
प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १५:०१:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology