काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा पुगेको छ । यस दिन १९४ कम्पनीको ४१ हजार ६२० पटकको कारोबारमा १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ रुपैयाँ बराबरको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर खरीद बिक्री भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेर ३०८.३४ को विन्दुमा आएर कारोबार बन्द भएको छ ।
यो दिन शिखर इन्स्योरेन्सको सर्वाधिक १० करोड ८५ लाख ९८ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल बैंकको ९ करोड ५९ लाख ३९ हजार ७०३ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ७३ लाख २३ हजार ७०१ रुपैयाँ, अरुणभ्याली हाइड्रोपावरको ५ करोड ६० लाख ७१ हजार ५९ रुपैया बराबरको कारोबार भएका छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये होटल्स समूह बाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । बैकिङ समूह १.८७ अंक, व्यापार समूह ५.७२ अंक, विकास बैंक २२.८ अंक, जलविद्युत समूह ३३.७९ अंक, वित्त समूह १२.०२ अंक, निर्जिवन समूह ७४.७७ अंक, उत्पादन समूह २३.२ अंक, अन्य समूह ७.३६ अंक, लघुवित्त समूह १०.२२ समूह, जीवन विमा समूह ९४.६८ अंक र म्युचल फण्ड समूह ०.०३ अंकले बढेको छ । उता होटल्स समूह २३.६४ अंकले गिरावट आएको छ ।
यो दिन २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेड र माउन्टेन हाइड्रो नेपाल लिमीटेडको सेयरमूल्य १० प्रतिशत हाराहारीमा बढेको हो ।
यो दिन सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा हाइड्रोपावर सेक्टरका कम्पनीको एकछत्र दबदबा देखियो ।
यो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले धेरै गुुमाए । कम्पनीको सेयरमूल्य ३.५७ प्रतिशतले घट्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन छिट्टै गर्ने तयारी भएपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरु बताउँछन् ।
नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा पनि छिटो भन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेताहरुले बताएका थिए । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा कसलाई ल्याउँछन भनेर बजार विश्लेषकहरु चासो पुर्वक नियालिरहेका छन् । शेयरबजारप्रति नकारत्मक रहेका डा. युवराज खतिवडाको राष्ट्रियसभाको पदावधि सकिएपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।