ललितपुर । बुधबारदेखि अबिरल रुपमा परेको वर्षाको कारण ललितपुरको भट्टेडाँडाको पाङदुर डोल पहिरोमा परी घाईते भएका ४ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
पहिलो पटक आज विहान ८ः५६ र दोस्रो पटक १०ः७ बजे उद्धार गरिएको प्रहरी चौकी भट्टेडाडाका प्रहरी नायव निरीक्षक सन्तोष बरालले जानकारी दिए ।
उद्दार गरी ल्याईएका कुमार नगरकोटीलाई बि एण्ड बी अस्पताल लगिएको छ । उनको दाहिने खुट्टा भाच्चिएको छ । अर्का घाईते सुरेन्द्र थापालाई आनन्दवन अस्पताल टिकाभैरव लगिएको छ । उनको दायँ खुट्टामा चोट र कोखा दुखिएको बताइएको छ । अरु घाइते हुनेमा सारुख आलम, सागर घलेलाई पनि आनन्दवन अस्पताल लगिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले बताए । आलमको दुवै खुट्टामा चोट, घलेको बायाँ खुट्टामा चोट लागेको डीएसपी ओझाको भनाई छ ।
पहिरोमा परी बा २ क ५१५५, बा ५ ख ५७५२ नम्बरको टिप्पर र ३–०२–०१२ क ५४९७ नम्बरको मोटरसाइल पहिरोमा पुरिएको छ ।
मौसम प्रतिकुलका कारण बिहीबारदेखि हेलीकप्टरबाट उद्धार गर्न प्रशासनले पहल गरेपनि मौसमका कारण सम्भव नभएपछि आज हेलीकप्टरबाट उद्धार गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।
यो पनि पढ्नुहोस
१८ घन्टादेखि कान्तिलोकपथको पहिरोमा फसेका ५ जनाको अझै उद्धार भएन