बुटवल । प्रदेश सरकार गठन भएको तीनवर्षपछि प्रदेश ५ ले आफ्नो प्रदेशको स्थायी राजधानी नाम र टुंगो लगाएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने सरकारको निर्णय प्रदेशसभामा पेश भएको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । सो निर्णय प्रदेशसभामा पेश भएको एक प्रदेश सांसदले जानकारी दिए ।
शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच सो नाममा सहमति जुटेर प्रदेश ५ मा परिपत्र गरिएको थियो । परिपत्र गरेको केही समयपछि प्रदेश मन्त्रिपरिषद्को बैठक बसेर सो निर्णय गरेको हो ।
प्रदेश सभाको सोमबार बस्ने बैठकले यसबारे औपचारिक निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।