बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने सरकारको निर्णयमा ७० बढी सांसदको समर्थन रहने देखिएको छ ।
सोमबार प्रदेशसभामा भालुवाङलााई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएर छलफल सुुुुरु भएको छ ।
प्रस्ताव पेश भएर छलफल सुरु भएपछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ले प्रदेशसभा बैठकमा कुर्सी, मेच भाँच्नुको साथै माइक तोडफोड गरेपछि दुईपटक बसेको प्रदेश सभा बैठक भोलि (मंगलबार) सम्मको लागि स्थगित भएको छ । तर, भोलि दुईतिहाई भन्दाबढी मतले प्रदेशको स्थायी राजधानी पारित हुने एक सांसदले बताए ।
'सत्तारुढ नेकपाले आफ्ना सांसदलाई सरकारको निर्णयको पक्षमा मतदान गर्न ह्वीप नै लगाएको छ । नेकपाको ६१ सांसद छन् । प्रदेशसभाको दुईतिहाईका लागि ५९ मत आवश्यक पर्छ', सो प्रदेशका प्रभावशाली सांसदले भने, 'नेपाली कांग्रेसका झण्डै १० जना सांसदले पनि भालुवाङलाई स्थायी राजधानी बनाउने पहिलेदेखिकै प्रस्ताव भन्दै समर्थन गर्ने घोषणा गरेका छन्, दुई तिहाई भन्दा बढी मतले प्रदेशको स्थायी राजधानी तोक्ने निर्णय पास हुन्छ ।'
सोमबार साँझ विज्ञप्ती निकाल्दै कांग्रेसका प्रदेश सांसदहरुले १२ वटा जिल्लाको बीचमा भालुवाङ पर्ने भएकोले उपयुक्त ठाउँमा राजधानी राख्ने निर्णय गरेकोमा प्रदेश सरकारलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच शुक्रबार भउको छलफलमा प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने सहमति भएको थियो । त्यसपछि सोहीदिन प्रदेश मन्त्रिपरिषद्को बैठक बसेर भालुवाङलाई स्थायी राजधानी बनाउने निर्णय गर्दै प्रदेश सभामा सो प्रस्ताव पेश गरेको थियो । यसैगरी शुक्रबार नै बसेको प्रदेश सरकारले लुम्बिनी नाम राख्ने निर्णय गरेको थियो । सो निर्णय पनि पारित हुने ती प्रदेश सांसदले दाबी गरे ।