चिकित्सा शिक्षा सुधारको माग राखेर आमरण अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न सरकारी वार्ता टोलीलाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् । शुक्रबार राति भएको वार्ता विनानिष्कर्ष टुंगिएपछि शनिबार बिहान ११ बजे मन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेका हुन्। शिक्षा मन्त्रालय स्रोतका अनुसार डा. केसीसँग सहमतिको खाका तयार गर्नका लागि मन्त्री पोखरेल आफैं सक्रिय भएका हुन्। बालुवाटारमा शिक्षामनत्रीसहित सरकारी वार्ता टोलीले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको छ। यसअघि शुक्रबार साँझ पनि शिक्षामन्त्री पोखरेल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटार पुग्दा पनि प्रधानमन्त्रीसँग भेट्ने समय नमिलेपछि टेलीफोन कुराकानी गरेर उनी मन्त्रालय फर्किएका थिए। मन्त्रालय फर्केपछि शुक्रबार राति नै मन्त्री पोखरेलले सरकारी वार्ता टोलीलाई राखेर सहमतिका लागि गृहकार्य गरेका थिए। सहमतिको सामान्य खाका तयार गरेर डा. केसी पक्षधरलाई वार्तामा बोलाउन सरकारी वार्ता टोलीलाई आग्रह गरेका थिए। सोही तयारी बमोजिम शुक्रबार राति दुवै पक्षबीच भएको दुई घण्टा लामो छलफल भए पनि कुनै सहमतिमा पुग्न सकेको थिएन । डाक्टर केसी अनशन बसेको २३ औं दिनमा बुधबार सरकारले वार्ताटोली गठन गरेपछि बिहीबार दुवै पक्षबीच दिनभर वार्ता भएको थियो। बिहीबारको वार्ता सकारात्मक भए पनि शुक्रबार रातिको वार्तामा सरकारपछि पछि हटेको केसी पक्षीय वार्ता टोलीले आरोप लगाएको छ। चिकित्सा शिक्षाको सुधारको माग गर्दै डा. केसी २७ दिनदेखि आमरण अनशनमा रहेका छन्। पछिल्लो समय उनको स्वास्थ्य अवस्था गम्भीर भएसँगै मन्त्री पोखरेलले समस्या समधानका लागि पहलकदमी लिएका हुन्।