काठमाडौं । आज सानिमा जनरल इन्स्योरेन्से सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
उक्त कम्पनीले असोज २१ गतेदेखि सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कुल कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको हो ।
यो शेयरमा आवेदन दिनका लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्मको मिति तय गरिएको भएपनि पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू। ७० करोड रहेको छ । उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
आईपीओ खरीद गर्न चाहनेहरुले विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने व्यवस्था छ ।