काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय हटाएर पुरै सिटमा यात्रु बोक्न पाउने नयाँ निर्णय गरेको हो । यसअघि सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि सोही नियम जारी गरिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् । अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ । बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।