काठमाडौं । सरकारले कोरोना महामारीबाट जोगाउन तत्काल २२ सय बढी हाइडिपेन्डेन्सी बेड बनाउने भएको छ । मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड-१९ को संक्रमण दर बढिरहेकाले सरकारले काठमाडौंमा १५ दिन भित्रै दुई हजार तथा बढी प्रभावित जिल्लामा २०० वटा हाइ डिपेन्डेन्सी बेड बनाउने निर्णय गरिएको जानकारी दिए । उनले हाल कोभिड अस्पतालका रुपमा संचालनमा रहेका स्वास्थ्य संस्थाहरुमा आवश्यक सुविधा र उपकरण सहितको स्तोरन्नती गरी १५ दिनभित्र नै हाइ डिपेन्डेन्सी युनिट निर्माण गर्ने निर्णय भएको बताए । सरकार कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारका लागि काम गरिरहेको उनको दाबी छ । यस्तै उनले काठमाडौँ उपत्यका लगायतका बढी प्रभावित जिल्लामा हाल प्रयोग नभएका क्वारेन्टाइन स्थललाई १५ दिनभित्र आइसोलसन सेन्टरमा स्तरोन्नति गर्ने निर्णय भएको र यसको कार्यान्वयनको लागि स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।