काठमाडौं । खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
खोटाङ, बाह्रपोखरी गाउँपालिका–५ सोह्रखानीस्थित सडकमा को १ ज ३४७० नम्बरको ट्याक्सी अनियन्त्रित भई बाटोबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बाह्रपोखरी गाउँपालिका–६ बस्ने ४५ वर्षीय दक्षुमान राई समेत ३ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २८ वर्षीय छत्र बहादुर राई समेत ४ जनाको धरान घोपामा उपचार भईरहेको छ । ट्याक्सीका चालक उदयपुर चौदण्डीगढी नगरपालिका–६ माझीगाउँ बस्ने २७ वर्षीय यम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, कलैया उपमहानगरपालिका–१६ स्थित सडकमा बा २१ च ४९७ नम्बरको कारको ठक्करबाट मंगलबार साँझ सोही महानगरपालिका–६ बस्ने साइकलयात्री ३० वर्षीय गुड्डु शेखको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका गुड्डुको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कञ्चनपुर, शुक्लाफाटाँ नगरपालिका–११ बनहरास्थित सडकमा लु ६० प ७१४० र म १ प ९६२८ नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा म. १ प ९६२८ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका–६ ऐठपुर बस्ने गुल्मी घर भएका ४२ वर्षीय बिष्णु ज्ञवालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लु ६० प ७१४० नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज जोशीको शुक्लाफाँटा क्लिनिक झलारीमा उपचार भईरहेको छ ।
सप्तरी, कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित सडकमा बुधबार बिहान बा १८ च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।