ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गोदावरीमा निर्माणाधिन ३ हजार सिट क्षमताको सभाहल निरीक्षण गरेका छन् ।
निरीक्षणमा प्रधानमन्त्री ओलीसँग शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधि सभा सदस्य नवराज सिलवाल प्रदेश सांसद ज्ञानेन्द्र शाक्य, चेतनाथ सञ्जेललगायतको उपस्थिति रहेको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागले उक्त हल बनाउन लागेको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भनिएको नयाँ बानेश्वरको संसद भवनको सिट क्षमता ८ सय छ । यो बाहेक अर्को हल राष्ट्रिय सभाहल हो । यसको पनि सिट क्षमता जम्मा ५ सय छ ।
हलको अभाव हुँदा सरकारले ठूला सम्मेलनहरू होटलको हल भाडामा लिएर गर्दै आएको थियो । अब यो भवन बनेपछि भने ठूलो हलको अभाव टर्ने देखिएको छ।
१ सय १२ रोपनीमा बन्न लागेको उक्त सभाहलको क्षेत्रफल ४५ मिटर चौडाइ र १ सय ६ मिटर लामो हुनेछ । गोदावरीको बसपार्कसँगै जोडिएको जग्गामा यो हल बन्न लागेको हो । यो सातदोबाटोदेखि ८ किलोमिटर टाढा पर्छ ।

भवन एक तल्लाको हुनेछ । मूल भवनको दुवैतिर साना साना दुई कोठा पनि हुनेछन् । हलको दुई भागका साना कोठा मल्टिपर्पोज हल हुन् । हलको अघि रहेको मञ्चको दुवैतर्फ एलइडी स्क्रिन हुन्छ । मुख्य हलको पछाडि पनि केही कोठाहरू हुनेछन् ।

