सिराहा । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सिराहामा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित सडकमा शुक्रबार दिउँसो ना.५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३–०१–०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा झापा शनिश्चरे नगरपालिका–८ बस्ने मोटरसाइकलमा सवार ५० वर्षीया आशा श्रेष्ठको मृत्यु भएको हो । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी आशालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।