Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डाक्टर गोबिन्द केसीले प्रधानमन्त्री ओलीलाई दिए यस्तो कडा जवाफ

डाक्टर गोबिन्द केसीले प्रधानमन्त्री ओलीलाई दिए यस्तो कडा जवाफ

दैनिकी न्यूज

२९, कार्तिक २०७७
डाक्टर गोबिन्द केसीले प्रधानमन्त्री ओलीलाई दिए यस्तो कडा जवाफ
images

काठमाडौं । डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन् । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए । त्यसपछि डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट विज्ञप्ति जारी गर्दै आफ्नो खर्च आफै बेहोर्ने बताएका हुन् । डा. केसीले विज्ञप्तिमा भनेका छन्, 'म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ्यलाभको शुभकामना सन्देशका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफै बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।' विपन्न र दूरदराजका कोरोना संक्रमितलाई निःशुल्क उपचार आवश्यक भए पनि उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको पनि डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, 'अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।' आफूहरुसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बनिसकेको हुने र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने अवस्था आइसक्ने पनि डा. केसीले बताएका छन् । डा. केसीले आफूहरुसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै भनेका छन्, '१९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु।' केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । सुवेदीका अनुसार केसीलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १६:१४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology