Logo

सोमवार, श्रावण २५ गते २०८३

images

९७ लाख चोरी गर्ने एक व्यक्ति पक्राउ

९७ लाख चोरी गर्ने एक व्यक्ति पक्राउ

दैनिकी न्यूज

३०, कार्तिक २०७७
९७ लाख चोरी गर्ने एक व्यक्ति पक्राउ
images

मुग्लिन । चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए ।

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा निज कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा रु ४० लाख गरी रु ९७ लाख र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए । थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।


चार दिनमा ४६ फरार
चितवनमा चार दिनमा ४६ फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेका व्यक्तिलाई कात्तिक २५ देखि २८ गतेसम्म पक्राउ गरिएको हो ।

चोरी, जबर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका ४५ पुरुष र एक महिला गरी ४६ फरार व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाइएको प्रवक्ता थापाले बताए । यसबाट सात वर्ष नौ महिना २६ दिन कैद र रु चार लाख आठ हजार ३११ असुलउपर भएको उनले जानकारी दिए । रासस

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १५:५५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology