काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड- १९)बाट संक्रमित कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च बेहोर्ने भएको छ । बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको हो । कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सुरुमा वीर अस्पताल भर्ना गरिएको थियो । कात्तिक १० गते वीर अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियो भने अवस्था बिग्रिन लागेको थियो । त्यसपछि उनलाई कात्तिक ११ गते ग्रान्डी अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखी उपचार गराइएको छ । उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको उनका सहयोगी आकाश उप्रेतीले बताए । आजको मन्त्रिपरिषद्ले सांसद विश्वकर्माको उपचारमा लागेको सबै खर्च बेहोर्ने निर्णय गरेको हो ।
बैठकले नेपाली सेनाका सहायकरथी सन्तोषकुमार ढकालसहित चार जना सेनानीहरुको बढुवा र सरुवासम्बन्धी निर्णय गरेको छ । साथै, बैठकले विभिन्न २५ वटा अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाइने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ । यसअघि राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको सूची सूची ६ महिना पूरा भएकाले पुनः राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको हो । पहिलेको सूचीमा ह्याण्ड स्यानिटाइजर बनाउने उद्योग, मास्क बनाउने उद्योग आदिलाई पनि अत्यावश्यक सेवा अन्तरगत पारिएको छ । बैठकले मदन भण्डारी विश्वविद्यालयमा दरबन्दी सिर्जना गर्ने निर्णयसमेत गरेको छ ।