काठमाडौं । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुने भएको हो ।
कोरोना भाइरसका कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै अनलाइन भर्चुअलमार्फत सहभागि हुन सक्ने गरी शेयरधनीहरुलाई मिटिङ आईडी पासवर्ड उपलब्ध गराउने व्यवस्था गर्ने जानकारी गराएको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० दशमलव ८५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
साधारण सभाका प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि मंसिर १४ गतेसम्म कायम शेयरधनीहरु योग्य भएका छन् ।