काठमाडौं ।
बारा प्रहरीले बारा जितपुर उपमहानगरपालिका वडा नं. २ सिमरा स्थित सिमरा पाराडाइज होटलमा जुवातास खेलीरहेको अवस्थामा बिहीबार १० जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटि गएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट ५ लाख ८२ हजार ५५० नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
हारजित हुने गरी जुवातास खेलीरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको डीएसपी गौतम मिश्रले बताए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङ, उर्लाबारी नगरपालिका–९ बस्ने साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय बाबुराम कार्की लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास बर्तौला लगायत १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।